५ भदौ, काठमाडौं ।

अहिले बजारमा तरकारीको भाउ आकाशिएको छ । राजधानीको मुख्य तरकारी बजार कालीमाटीमै तरकारीको भाउ छोइनसक्नु छ भने खुद्रा पसलमा तिर्नुपर्ने मूल्य त झन् चर्को । वर्षादको कारण तरकारी उत्पादन तथा आपूर्तिमा कमी आएकाले केहीदिनअघिसम्म बढेको मूल्य अहिले सामान्य अवस्थामा रहेको दाबी व्यापारीले गरिरहँदा सर्वसाधारण भने तरकारीको भाउ छोइनसक्नु भएको गुनासो गर्छन् ।

पछिल्लो केही दिनयता दैनिक उपभोग्य बस्तु तरकारीको मूल्य आकाशिएका कारण आम मानिसको भान्सा महँगो भएको छ । विगतका महिनाहरुमा भन्दा तरकारीको मूल्य दोब्बर भन्दा बढी पुगेको उपभोक्ता बताउछन् । बोडी, सिमी, घिरौंला, करेला, भिण्डी लगायतका तरकारी उत्पादन हुने यो सिजनमा पनि यी तरकारीको भाउ प्रतिकिलो ८० रुपैंयाँभन्दा माथि छ ।
Vegetables ktm

कालिमाटीमै प्रतिकिलो थोक मूल्य ८० रुपैंयाँभन्दा बढी पर्छ । कालीमाटीको भन्दा बाहिर बजारमा तरकारीको मूल्य कम्तीमा पनि ३० प्रतिशत बढी तिर्नुपर्ने अवस्था छ । सस्तो मूल्यमा तरकारी किन्न कालीमाटी बजार पुगेका उपभोक्ता पनि यहाँ पनि निकै महंगो रहेको बताउछन् ।उत्ता, राजधानीको मागको मुख्य हिस्सा धान्ने आसपासका जिल्लाबाट तरकारी आपूर्ति सहज नभएकाले केही महिना अघि महँगो हुनपुगे पनि अहिले भने दैनिकरुपमा मूल्य घटिरहेको दाबी व्यापारीहरुको छ ।

धादिङ, काभ्रे, चितवन, भक्तपुर, नुवाकोट, मकवानपुरलगायत आसपासका जिल्लाका साथै मुलुकको पश्चिमी क्षेत्रबाटसमेत गरी आन्तरिक बजारको ७० प्रतिशतसम्म माग स्वदेशी तरकारीले धान्दै आएको छ । बाँकी ३० प्रतिशतमध्ये अधिकाँश भारत र चीनबाट समेत तरकारी भित्रिंने गरेको छ । वर्षौंदेखि तरकारी बजारमा कायम रहेको बिचौलियाका कारण पनि तरकारीको मूल्यमा थप चाप परेको छ ।