८ जेठ, काठमाडौ ।

भूकम्पमा घाइते भएर नेपाल अर्थोपेडिक अस्पतालमा उपचार गराइएका नुवाकोटका श्याम तामाङ ठिक भए पनि घर फर्किन चाहँदैनन् ।

भूकम्पको समयमा बाहिर निस्किँदै गर्दा उनको छोराको मृत्यु भयो । उनी गम्भीर घाइते भए । उनका अर्का छोरा पनि घाइते भए । एकातिर छोराको मृत्युको पीडा अर्कातिर बस्ने घर नहुँदा फर्किन मन छैन । ओत लाग्ने ठाउँ नहुँदा अस्पतालमै अलपत्र परेको उनले बताए ।

Grande Hospital (11)

फाइल तस्विर

भूकम्प गएको बेला घाइते भएर नेपाल अर्थोपेडिक अस्पतालमा उपचारका लागि आउकाहरु डिस्चार्ज हुँदासमेत अस्पताल छाड्न चाहदैँनन् । फर्किएर जाँदा बस्ने घरबार छैन । एकातिर बिरामीको हेरचाह नहुने र अर्कातिर खानेबस्ने ब्यवस्थापन नहुँदा उनीहरु घर फर्किँन नसकेका हुन् ।

अस्पतालले सोमवार १२ जना विरामी डिस्चार्ज गरेको छ । उनीहरुमध्ये तीन जना मात्र घर फर्किएका छन् । नौ जना जाने ठाउँ नभएपछि अस्पतालमै बसिरहेका छन् । अस्पतालमा भर्ना भएका बिरामीमध्ये अझै ४० जना बिरामी घर फर्किन नसकेको अस्पतालले जनाएको छ ।

फर्कने घर नभएका बिरामीको तत्कालको ब्यवस्थापनका लागि अस्पताल आफैले गैरसरकारी संस्थासँग समन्वय गरेर पठाउन थालेको अस्पतालका मेडिकल डाइरेक्टर सञ्जु प्रधानले बताए । आजको राजधानी दैनिकमा खबर छ ।