५ चैत, काठमाडौं । विश्वमै महामारीको रुप लिइसकेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न नेपाल सरकारले सम्पूर्ण सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले यस्तो नियन्त्रण गरेको हो ।

सरकारले सिनेमा हलसँगै साँस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल आदिलाई ३० अप्रिल २०२० अर्थात २०७७ बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । यसको अनुगमन गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने बताइएको छ ।

डेढ महिना सिनेमाहल बन्द गर्ने निर्णयसँगै चैत्र २८ गते रिलिज हुने तयारीमा रहेका २ चलचित्र ‘चपली हाइट ३ र प्रेमगीत ३’को रिलिज मिति प्रभावित हुँदा बैशाखको १२ गतेलाई रिलिज मिति तय गरिएको चलचित्र ‘लप्पन छप्पन २ र हिजो आजका कुरा’को पनि प्रदर्शन मिति पछि सर्ने निश्चित छ ।

विश्वभर २ लाखभन्दा धेरै मानिस कोरोना भाइरसको संक्रमण भइसकेको छ । यस्तै ८ हजार २ सय मासिनको मृत्यु हुँदा ८२ हजार मानिस उपचारपछि घर फर्किएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी चीनमा ३ हजार २ सय ३७ र इटालीमा २ हजार ५ सय ३ जना रहेका छन् । अन्य देशहरुमा पनि कोरोनाभाइरसको संक्रमण उच्च देखिएको छ । नेपालमा अहिलेसम्म १ जनाका कोरोनाभाइरसको संक्रमण देखिएपनि उपचारपछि घर फर्किइसकेका छन् ।