काठमाडौं ।
कुनै बेला माओवादीमै प्रचण्डसँग निकट रहेका उपेन्द्र यादवले मधेशी जनाधिकार फोरम गठन गरेको धेरै वर्ष भएको छैन । त्यही माओवादी जनयुद्ध छोडेर सरकारमा गएकै समयमा लाहानमा सरकारपक्षबाट चलेको गोली यति महंगो सावित भयो कि तुफान जस्तै मधेश आन्दोलन भयो । माओवादी जनयुद्धको समयमा सुसुप्त अवस्थामा रहेको मधेशी भावनालाई उजागर गर्ने कोशिस गरिएको थियो तर त्यही कोशिस माओवादीलाई भयानक सावित हुन पुग्यो ।
मधेशामाथि रहँदै आएको सदाबाहर उत्पीडतको ज्वाला एकै पठक फुट्यो र मधेश आन्दोलनमा विष्फोट भयो । आन्दोलनमा १९ जनाले ज्यान गुमाए र त्यतिबेला सत्तामा रहेका गिरिजा प्रसाद कोइरालाले मधेशीहरुसँग ‘मधेश प्रदेश’ दिने गरी उधारो सहमति गरे । त्यही आन्दोलनपछि मधेशीहरुलाई सामूहिकरुपमा सुरक्षा अंगमा भर्ती गर्ने सहमति समेत भयो । भलै ती सहमतिहरु अहिले सम्म कार्यन्वयन हुन सकेका छैनन् ।
मधेशी नेताहरुसँग सहमतिभएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला
कतिपय मधेशी नेताहरुले संघीयताको मुद्धा मधेशबाटै उठान भएको समेत दावी गर्छन् भलै अहिले यो निल्नु न ओकल्नु बनेको संघीयता मुद्धामाथि माओवादी मात्र नभएर कांग्रेस र एमालेले समेत हिस्सा दावी गर्ने समय आइसकेको छ । पहिलो संविधानसभामा माओवादी पहिलो शक्ति थियो । संविधान जारी गर्नका लागि दलहरुबीच ११ प्रदेशमा सहमति पनि भयो । तर जनजाति र मधेशी असन्तुष्ट रहेको भन्दै प्रचण्डले सहमति कार्यन्वयन हुन नसक्ने घोषणा गरिदिए र संविधानसभा असफल भएर विघटना हुन पुग्यो ।
समय फेरिएको छ दोश्रो संविधानसभा भएर संविधान जारी गर्नका लागि संविधानसभामा मस्यौदामाथि संसोधनहरु पेस भैरहेका छन् । तर कुनैबेला मधेशी असन्तुष्ट रहेका कारण संविधानसभा विघटन गर्न सम्म तयार हुने प्रचण्ड यतिबेला सत्ता पक्ष जस्ता र उनीसँगै रहेका मधेशी नेताहरु प्रतिपक्ष जस्तो अवस्थामा छन् । मधेशबाटै चुनाव जितेका भएपनि प्रचण्ड अहिले मधेशका आफ्ना मान्छे मानिँदैनन् । यो कुरा उनी संविधानको मस्यौदामा सुझाव संकलन गर्न त्यहाँ पुगेका बेला भएको ब्यवहारले समेत देखायो ।
मधेशः संवेदनशील भूगोल
हस्तक्षेपकारी र तीन तिरबाट घेरेको भारतसँग जोडिएका कारणले पनि हुनु पर्छ मधेशलाई नेपालको संवेदनशील भूभाग मानिन्छ । मधेशी जनता नागरिकताबाट बञ्चित हुने देखि विभिन्न उत्पीडिनमा पर्दै आएको जति सत्य हो त्यही उत्पीडिनको नाममा मधेशमा अतिवादी र पृथकताबादीहरुले मलजल पाएर फरक अतिवादी ध्रुवहरु पैदा भएको पनि उत्तिकै सत्य हो । कतिपय अतिबादीलाई मधेशमा बस्ने सबै मधेशीहरु भारतसँग मिल्न चाहन्छन् भन्ने भ्रम छ भने अर्का तिर मधेशीहरुमा काठमाडौंले आफूलाई कहिल्यै पनि आफ्नो नमानेको र सँधै दमन गरेको भन्ने हिन भाव छ । मधेशमा विद्रह शुरु भएको गिरिजा प्रसाद कोइराला जिवित रहेको समय देखि नै हो । उनले गरिदिएको मधेश प्रदेशको आश्वासन सहितको सम्झौता उनका उत्तारधिकारीलाई भने महंगो सावित भएको छ ।
पहिलो संविधानसभामा चुनाव हारेर पनि दोश्रो संविधनसभापछि शक्तिशाली बनेका एमाले अध्यक्ष केपी शर्मा ओली मधेशप्रति तुलनात्मकरुपमा अनुदार मानिने नेता हुन् । मधेशमा प्रदेश भन्ने शब्दावली समेत सुन्न नचाहने उनी शक्तिमा आएदेखि नै मधेशी नेताहरु विच्किएका देखिन्छन् । एमालेले मधेशलाई छुट्ट्याएर एउटा पनि प्रदेश नबनाउने अडान लिएको भएपनि पछिल्लो समयमा गरिएको सहमतिमा प्रदेश नम्बर २ लाई विसुद्ध मधेशी राखिनुलाई ओलीले देखाएको उदारताकोरुपमा लिन सकिन्छ । मधेश कति संवेदनशील भूमी हो भन्ने कुरा एक भारतीय मिडियाले भारतीय गृहमन्त्रीले नेपालमा १ करोड भारतीय छन् भनेको भनेर समाचार प्रकाशित गरेपछि नेपालमा देखिएको प्रतिक्रियाले उजागर गर्छ ।
सायद यही संवेदनशीलतालाई हतारमै महसुस गर्दै भारतीय विदेशमन्त्रालयले गृहमन्त्री राजनाथ सिंहले त्यस्तो कुरा नभनेको स्पष्टीकरण मात्र दिएन नेपालबारे अनर्गल नबोल्ने समेत स्पष्ट पार्यो । कैलाली घटनापछि गृहमन्त्री बामदेव गौतमले तराइमा भैरहेका घटनामा दक्षिण तर्फबाट घुसपैठ भएको भनेर भारतबाट घुसपैठ भएको संकेत गर्दा भारतीय राजदुतले उनलाई कार्यकक्षमै पुगेर झपारेको बताइन्छ ।
मधेशको असन्तुष्टिः कैलालीको प्रक्षेपण
देशमा संविधानसभामा संविधानको अन्तिम मस्यौदा संसोधनको तयारी र संघीयताको विभाजन समेत भैसकेको अवस्थामा सुदुर पश्चिम देखि सुदुरपूर्व सम्मको सम्म भूभाग भने तनावमा छ । हुन त पहाडी क्षेत्रमा पनि कतिपय जातीय प्रदेशको मागसहित आन्दोलन चलिरहेका छन् । तर तराइमा भने मुख्यतः आगो बलिरहेको छ । तराइका कतिपय क्षेत्र बन्द भएको २ साता भन्दा बढी भैसक्यो ।
को हुन् कैलाली घटनाका मुख्य योजनाकार चौधरी ?
संघीयता विभाजनमा मधेशलाई अपहेलना गरिएको भन्दै मधेशी नेताहरुले यस अघि भएका सहमति कार्यन्वयन नभए सम्म वार्तामा समेत नबस्ने अडान लिइरहेका छन् । मधेशी नेताहरुकै उत्तेजक भाषण पछि भएको भनिएको भयानक कैलाली घटनासम्म पनि शान्त देखिएको मधेशको भूभाग अव भने तनावग्रस्त बन्ने संकेत देखिएको छ ।
सोमबार र मंगलबार गरी पर्सा र बारामा मात्र ६ जना प्रदर्शनकारीले ज्यान गुमाइसकेका छन् । मधेशमा आगो बल्नुको मुख्य कारण त्यो भूमिमा बस्नेहरुमा रहेको दशकौं देखिको उत्पीडिनको भाव हो । पहाडी सत्ताले मधेशमा दमन गरेको भन्दै मधेशमा रहेको विद्रोहको भावनालाई पछिल्लो समय भारतीय सञ्चार माध्यमले समेत आफ्नो मुख्य विषय बस्तु बनाइरहेका छन् । मधेशप्रति भारतीय मिडियाले देखाएको विशेष भाव भने प्रत्यूत्पादक बनिरहेको देखिन्छ । पुरानो उत्पीडिनको भावले हुन सक्छ मधेशमा धेरै प्रकारले विद्रोह हुने खोजे तर त्यसले एकल र विश्वसनीय नेतृत्व भने पाउन सकेको देखिँदैन । प्रभावशाली र एकल नेतृत्वविहिन बनेको मधेशमा शुरु भएको तनावले मधेश आन्दोलनको समयमा जस्तै भयानक बन्न सक्ने र गौर काण्ड भन्दा पनि फरक प्रकृतिले भयानक देखिएको कैलाली घटना जस्ता दृष्य समेत प्रक्षेपित हुने खतरा देखिन्छ ।
नेतृत्वविहिन मधेशः को हो मधेश आन्दोलनको नेता ?
मधेशमा आन्दोलन देखि नै मधेशमा विभिन्न चरणमा विद्रोह हुन खोजेको छ । त्यसको नेतृत्व लिन विभिन्न नेताले प्रयास गरे तर असफल देखिएका छन् । यस्तै नेतृत्व विहिन अवस्थामा खेल्दै अतिबादी विचार बोकेका सीके राउतले मधेशलाई टुक्र्याउने भन्दै अभियान चलाइरहेका छन् तर पनि उनको आन्दोलनमा खुला समर्थन निक्कै कम देखिन्छ । पहिलो संविधानसभामा शक्तिशाली बनेका एमाओवादी र मधेशी दल दोश्रो संविधानसभापछि कमजोर बने र मधेशी दल झनै कमजोर र छिन्न विन्न भए । यस्तो छिन्न भिन्न रहेको कमजोर अवस्थालाई सवल बनाउन मधेशी नेताहरुले पटक पटक एकता प्रयास पनि गरे तर उनीहरुबीचको जुङ्गाको लडाइँ सबैभन्दा बाधक बन्यो यस्तो प्रयासमा ।
उपेन्द्र यादवः
हुन त खासमा मधेश आन्दोलनबाट उठेका नेता उपेन्द्र यादव नै हुन् तर उनी भन्दा अघि देखि मधेशलाई भोट बैंक बनाएर हाली मुहाली गर्दै आएका मधेशी मसिहा ठान्ने पुरातनबादी नेताहरुले उनलाई नेता मान्दैनन् र नेतृत्व दिँदैनन् ।
पछिल्लो समयमा मधेशको विषयमा सबैभन्दा बढी अडान लिने नेता देखिएका छन् उपेन्द्र यादव । मधेश आन्दोलनबाट उठेका नेताकोरुपमा उनले त्यसो गर्नु स्वभाविक देखिएपनि सर्वस्वीकार्य हुन नसक्नु उनका लागि अविसाफ बनेको छ । उनलाई शक्तिशाली ठानेर नै होला एमालेको उपाध्यक्ष भैसकेपनि पार्टी छोडेर नयाँ पार्टी खोलेर असफल भएका असोक राइले आफ्नो पार्टी उपेन्द्र यादवको पार्टीमा समाहित गराएका छन् ।
उपेन्द्रको नेतृत्वमा प्रश्न उठाउँदै प्रचारवाजी भएपछि फोरमको फेसबुकमा गरिएको बचाउँ
सोमबार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष यादवले २०६४ सालमा सरकारले गरेको आठबुँदे र २२ बुँदे सम्झौता कार्यान्वयन नै वार्ताका लागि आफूहरुको ‘बटमलाइन’ भएको बताए । यथास्थितिमा सरकारसँग वार्ता हुन नसक्ने बताउँदै अध्यक्ष यादवले विगतको सम्झौता तत्काल लागू गर्नुपर्ने अडान राखे । सरकारले आन्दोलनरत दलहरुलाई वार्ताका लागि आह्वान गरिरहेका बेला अध्यक्ष यादवले तत्काल वार्ताको औचित्य नरहेको समेत बताएका छन् ।
महन्त ठाकुरः
मधेश आन्दोलनपछि नेपाली कांग्रेसको राजनीतिकबाट सम्बन्ध विच्छेद गरेर मधेशी पार्टी गठन गरेका महन्त ठाकुरलाई मधेशका शन्त नेता मानिन्छ तर उनमा नेतृत्व क्षमता देखिँदैन । उनलाई नेता मानेर बस्न नसक्ने भएकै कारण उपेन्द्र यादव मधेशी मोर्चा एकताबाट पछि हटेको बताइन्छ
राजेन्द्र महतोः
राजेन्द्र महतो सबैभन्दा बढी सत्ताको स्वाद चाखेका मधेशी नेता हुन् । मधेश आन्दोलन अघि पनि मधेशी भोटबैंकको फाइदा उठाएका उनी पहिलो संविधानसभामा चुनाव जितेपनि मधेश विद्रोह पछिको नेता भने बन्न सकेनन् । उनलाई नेता स्वीकार गरेर मधेशी नेता एकठाउँ आउने सम्भावना समेत छैन ।
विजय गच्छदारः
कुनै बेला उपेन्द्र यादवको छाता ओडेर मधेशी राजनीतिमा जमाउन कँस्सिएका विजयकुमार गच्छदार संविधानसभाको पहिलो चुनाव र दोश्रो चुनावपछि सबैभन्दा शक्तिशाली बनेका राजनीतिक खेलाडी हुन् । आफूलाई थारुको छोरो भन्दै थारुको पनि सेन्टिमेट समात्ने र मधेशी नेताकोरुपमा पनि ब्याज खाने प्रवृत्ति उनमा देखियो ।
सत्तामा रहँदा नरम र प्रतिपक्षमा रहँदा गरम देखिने गच्छदारलाई न त थारुले न त मधेशीले आफ्नो मान्छन् । १६ वुँदे सहमति देखि ६ प्रदेशको संघीयताको सहमति सम्म सुशील, ओली र प्रचण्डसँगे रहेका गच्छदार ७ प्रदेशको संघीयतासँगै गरिएको सहमतिपछि भने बिच्किए जस्तो गरेका छन् । तर उनलाई न त सत्तापक्षसँग बस्दा जस पाउने अवस्था छ न त आन्दोलनमा गएर केही गर्ने अवस्था नै छ ।
वार्ताका लागि मधेशी मोर्चाले राखेको शर्त
भारतप्रतिको आसक्ति
मधेशी नेताहरु सबैभन्दा अलोकप्रिय बन्नुको कारण हो उनीहरुले भारतप्रति देखाउने गरेको अनावश्यक आसक्ति । यसैपनि शंकाका आँखाले हेर्नेहरुलाई मधेशी नेताको भारत भक्तिले झनै सशंकित बनाएको देखिन्छ । १६ बुँदे सहमति भएपछि केही भारतीय नेताहरु भारतीय दुताबास पुगेर हस्तक्षेपका लागि आग्रह गरेका थिए । केही समय अघि मधेशमा सशस्त्र विद्रोह समेत गरेका जयकृष्ण गोइतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विन्ती पत्र नै लेखे भने ७ प्रदेशको संघीयतामा सहमति भएपछि केही मधेशी नेताहरुले भारतीय नेताहरुसँग आसिर्वाद लिन गएको कुरा सार्वजनिक स्वीकार गरे । केही दिन अघिमात्र आन्दोलनरत चार दलीय मधेसी मोर्चाका नेताले प्रस्तावित ७ प्रदेश र त्यसको सीमाकंनविरुद्ध तराईमा भइरहेको आन्दोलनमा सहयोग गर्न भारतको उत्तर प्रदेशमा भारतीय जनता पार्टीका लोकसभा सदस्य एवं पूर्व मुख्यमन्त्री जगदम्बिका पालमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका हुन् ।
संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवं सभासद अभिशेक प्रताप शाह, तमलोपा नेता बृजेशकुमार गुप्ता र सद्भावना नेता नरसिंह चौधरीले लोकसभा सदस्य पालमार्फत प्रधानमन्त्री मोदीलाई पठाएको स्वीकार गरेका छन् । विजेपी नेता तथा लोकसेवा सदस्य जगदम्बिका पालसँग सहयोगका लागि अपिल गरेपछि सामूहिक तस्विर खिचाउँदै सद्भावना पार्टीका नर्सिङ चौधरी, तमलोपाका बृजेशकुमार गुप्ता, संघीय समाजवादी फोरम नेपालका अभिशेकप्रताप शाह आफूहरुले आन्दोलन केका लागि र किन आवश्यक पर्यो भन्ने दस्तावेज नेता पालमार्फत मोदीलाई पठाएका थिए ।
नेपालमा तनाव हुँदा भारतीय मिडियाका हेडलाइनः ‘मोदीले कोइरालालाई झपारे’
मधेशी नेताहरुको भारतप्रतिको आसक्तिलाई भारतीय मिडियाले राम्रैसँग साहानुभुति प्रकट गरिरहेका छन् ।
कैलालीसहित मधेशमा भैरहेका आन्दोलनलाई भारतीय मिडियामा उछालिएको छ र नेपालमा गृहयुद्ध नै शुरु भएको शैलीमा प्रस्तुत गरिएको छ ।
यी उल्लेखित पृष्ठभूमिमा तराइमा शुरु भएको तनाव र बलिरहेको आगोले कुनरुप धारण गर्छ यसै भन्न नसकिने अवस्था छ ।