२३ असार, भोजपुर ।
अरुण गाउँपालिका १ प्याउली मरेङडाँडाका ३ बालबालिकाको एकै ठाउँ भएको हत्या अझै रहस्यमै छ । करिब दुई सातासम्म पनि घटनाको भित्री पाटो पहिल्याउन र दोषी पहिचान गर्न नसकिएपछि स्थानीय जनजीवन भयभीत बन्दै गएको छ ।

असार १० गते साँझ अचानक हराएका अरुण ३ का १६ वर्षीय रञ्जीव सापकोटा, १४ वर्षीया सुष्मा फुयाल र ८ वर्षीय प्रदीप फुयाल असार १२ गते बिहान साढे ७ बजे स्थानीय तोरन कार्कीको माछापोखरीमा डुबेको अवस्थामा मृत फेला परेका थिए । सुष्मा र प्रदीप दिदीभाइ हुन् । रञ्जीव उनीहरूका छिमेकी हुन् ।

शव फेला परेको माछापोखरी उनीहरूको घरबाट डेढ सय मिटरजति दूरीमा पर्छ । पूर्वाञ्चल क्षेत्रीय प्रहरीकै सक्रियतामा अनुसन्धान जारी रहे पनि निचोडमा पुग्न नसकिएको प्रहरीले जनाएको छ । विरलै देखिने आपराधिक घटना भोगेको प्याउली बजार र आसपासका बासिन्दा शोकमा डुबेका छन् । परिवार र आफन्तका आँसु अझै ओबाएका छैनन् । उनीहरूमा उत्तिकै त्रास पनि छ । आजको कान्तिपुरमा खबर छ ।

रञ्जीव रवीन्द्र सापकोटाका तीन सन्तानमध्ये कान्छा हुन् । सुष्मा र प्रदीप चेतनाथ फुयालका तीन सन्तानमध्ये दुई हुन् । जोडिएका दुवै घरमा ३ जनाको काजकिरिया भइरहेको छ ।

‘काजकिरियाको एघारौं दिन भइसक्यो, घटनाको अत्तोपत्तो छैन, दोषी पत्ता लाउन सकेका छैनन्,’ रवीन्द्र सापकोटाले भावविहवल हुँदै भने, ‘छोरो त कहिल्यै नफर्किने गरी चुँडियो, न्याय पाउने आशा पनि टुटेजस्तै लाग्न थालेको छ ।’ रञ्जीवकी आमा ३८ वर्षीया सीता सापकोटाका आँसु अझै थामिएका छैनन् । ७२ वर्षकी हजुरआमा कौशिला सापकोटा १२ वर्षदेखि ओछ्यानमा थलिएकी छन् । नातिको हत्या भएको सुनेदेखि मूर्छा परेकी उनी होसमा आउन सकेकी छैनन् ।