३ कार्तिक,काठमाडौं। आज विभिन्न शक्तिपीठ र दशैं घरमा फूलपाती भित्र्याईँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत फूलपातीका रुपमा भित्र्याउने गरिन्छ ।durga dashain (2)

आज गोरखा दरबारबाट धादिङको जीवनपुर हुँदै फूलपाती काठमाडौँको जमलसम्म ल्याउने गरिन्छ । गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, ब्यान्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करले जमलमा ल्याइएको फूलपातीलाई हर्षबढाइँका साथ हनुमानढोकामा भित्र्याउने गरिन्छ ।

विशेषगरी विद्यार्थीले महासरस्वती तथा पुस्तक, कापी, कलम, मसीदानीको समेत पूजा गर्ने प्रचलन छ । फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आरधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । घटस्थापनाका दिनदेखि नै दसैँ सुरु हुने भए पनि दसैँको विशेष चहलपहल भने आजदेखि घरघरमा सुरु हुन्छ । आजदेखि सरकारी कार्यालय पनि बन्द हुने भएकाले अध्ययन व्यवसायलगायत विभिन्न कारणले मूलघरबाट टाढा रहेकाहरुको घर फर्कने चहलपहल छ ।