१६ कातिक, काठमाडौं । दोस्रो चरणमा मंसिर २१ गते पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता कार्य आज विहान १० बजेदेखि शुरु भएको छ ।

उम्मेदवारले बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गर्न सक्नेछन् ।

उम्मेदवार बिहानैदेखि नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवार मनोनयन दर्ता कसरी गर्ने, केकस्ता कागजात समावेश गर्नुपर्छ भनेर सोधखोज गरिरहेकोे पाइएको छ । कतिपय उम्मेदवार जुलुससहित उम्मेदवार मनोनयनपत्र दर्ता गराउन जानेक्रममा रहेको बुझिएको छ ।

प्रमुख राजनीतिक दलले उम्मेदवार छनोटमा ढिलाइ गरेका कारण कतिपय स्थानमा उम्मेदवारलाई मनोनयन गर्न आवश्यक कागजात मिलाउन हतारो भएको छ । निर्वाचन आयोगले उम्मेदवार मनोनयनलाई सभ्य र शान्त तुल्याउन भनेको छ । हरेक उम्मरदवारले दर्ता गर्न आफैले चुनाव लड्ने क्षेत्रमा जानुपर्ने भएकोले कागजपत्रको हतारो परेको छ  ।