२२ फागुन, काठमाडौं । विभिन्न बहानामा सेवाग्राहीसँग कमिसन लिने जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर के.सी.विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

केसीले सडक निर्माण कार्यमा कमिसनवापतको रकम बार्गेनिङ गरेको र विभिन्न वहानमा २५ लाख ५० हजार रुपैयाँ घुसवापत लिएको पुष्टि भएकाले मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोईरालाले जानकारी दिए ।

केसी र वडाअध्यक्ष राजबहादुर शाहीले कमिसन दिनुपर्यो भनी धाकधम्कीसमेत दिई पटक–पटक नगद र बैंक खातामा रकम दाखिला गर्न लगाई घुसररिसवत दिने चाहना नहुँदा नहुँदै पनि घुस दिन बाध्य भई घुस दिन परेको हुँदा कारवाही गरी पाउँ भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उनीहरुले रकम लिएको पुष्टि भएको अख्तियारको भनाई छ ।

उनीहरुले पटक पटक नगदै लिएको, बैंक खातामा जम्मा गर्ना लगाएको, विभिन्न होटल र गाडी रिजर्भको भाडा तिर्न लगाएको पुष्टि भएकाले २५ लाख ५० हजार रुपैयाँ विषे कायम गरी दुवै जनाविरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।