२२ फागुन, काठमाडौं । जाजरकोटका जुनीचाँदे गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षविरुद्ध घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा गाउँपालिाका अध्यक्ष कृष्णबहादुर केसी र वडा नं. ५ का वडाध्यक्ष राजबहादुर शाहीमाथि अनुसन्धान गर्दा आवश्यक प्रमाण भेटिएपछि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

कोइरालाका अनुसार गाउँपालिकाका अध्यक्ष केसीले कमिसन दिनुपर्यो भनी धाकधम्कीसमेत दिई पटक–पटक नगद र बैंक खातामा रकम दाखिला गर्न लगाएर घुस दिन बाध्य पारेको भन्दै आयोगमा उजुरी परेको हो ।

आयोगको अनुसन्धानमा हुँदा केसी र शाहीले एकआपसमा मिलेमतो गरी सेवाग्राहीसँग सडक निर्माण कार्यमा कमिसनबापत रकमको लागि बार्गेनिङ गरेको खुलासा भएको छ ।

यस्तै उनीहरुले पटक–पटक नगद लिने, बैंक खातामा जम्मा गर्न, बिभिन्न होटलमा तिर्न र गाडी रिजर्भको भाडा तिर्न लगाई बिभिन्न बहानामा २५ लाख ५० हजारघुस लिएको स–प्रमाण भेटिएको अख्यिारका प्रवक्ता कोइरालाले बताए ।

उनीहरुलाई बिगो २५ लाख ५० हजार रुपैयाँ कायम गरी जरिवाना र कैद सजाय हुन मागदाबी गरिएको छ ।