३ मंसिर, एजेन्सी । अस्ट्रेलियाको सिड्नी सहरलाई बाक्लो धुवाँले ढाकेको छ । सहरको आसपासका क्षेत्रमा लागेको डढेलोका कारण सिड्नीमा धुवाँ फैलिएको अधिकारीहरुले बताएका छन् ।

बीबीसीका अनुसार रातभर चलेको वायुले सहरको उत्तरतर्फबाट धुवाँ ल्याएपछि सिड्नीको वायु प्रदुषणको मात्रा खराब भएको हो । बिहान उठ्दा आकाश धमिलो देखिएको र घरमा धुवाँको गन्ध आएको स्थानीय बासिन्दाले बताएका छन् । न्यु साउथ वेल्सको राजधानी सिड्नीमा करिब ५० लाख मानिस बस्छन्।

न्यु साउथ वेल्सको उत्तरी क्षेत्रमा हप्तौंदेखि फैलिएको डढेलोका कारण ६ जनाको मृत्यु भइसकेको छ । सिड्नीको उत्तरतर्फका झन्डै ५० स्थानमा डढेलो फैलिएको छ । अधिकारीहरूले यो हप्ता डढेलो अझै बढ्न सक्ने बताएका छन् ।