१८ कात्तिक, एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा बढ्दो वायु प्रदुषणका कारण धुलो र धुवाँल दिउँसै अन्धकार भएको छ ।

जनजीवन अत्यन्त कष्टकर भएपछि विद्यालयहरु बन्द गरिएका छन् भने गाडी संचालनमा जोरबिजोर लागू गरिएको छ । नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले जोरबिजोर प्रणाली प्रभावकारी रुपमा कार्यान्वयन गर्न अपिल गरेका छन् । जोरबिजोर विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म कायम रहने भारतीय संचारमाध्यामले जनाएका छन् । यातायातका साधनबाट निस्किने धुवाँ, अत्यधिक यातायातको चाप र आवागमनका कारण उडेको धुलोका कारण भारतको राजधानी दिल्लीमा वायु प्रदुषण भएको भन्दै राज्य सरकारको यो निर्णय आएको हो ।

निर्माण कार्यहरु ठप्प छन् भने अरु दैनिक आवश्यकताका वस्तुहरुको परिपूर्तिका लागि समेत अप्ठेरो परिरहेको समाचारहरु आएका छन् । हरेक चिसो मौसमको शुरुमा जस्तै यस वर्ष पनि नयाँ दिल्लीको आकासको मौसममा खराबी देखिएको हो । सर्वसाधारण नागरिकहरु पनि अत्यावश्यकताका आधारमा मात्र सडक बजारमा निस्किएका छन् ।

यो प्रदुषणको मात्रा गएको तीन वर्षयताकै सबैभन्दा खतरनाक अवस्थामा देखिएको बताइएको छ । दुई हप्तामात्र अघि वायु प्रदुषणको मात्रा बढ्न लागेको भनेर दिल्लीका विद्यालयहरुमा प्रदुषणबाट बच्न मास्क बाँडिएको थियो । तर मास्कले पनि थेग्न नसक्ने भएपछि विद्यालयहरु नै बन्द गराइएको हो ।

केही दिनअघि सकिएको दीपावलीपछि दिल्लीको हावाको गुणस्तर अत्यन्त खराब भएको र श्वासप्रश्वास मा नै समस्या हुन थालेको हो । चिसो र श्वासप्रश्वासका विरामीले अस्पतालमा भीड हुन थालेको छ । दिल्लीको हावामा प्रदुषित हावाका कणको स्तर विश्व स्वास्थ्य संगठनले बनाएको मानकभन्दा २० गुणा बढीसम्म भेटिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।