१३ साउन, काठमाठौं ।

नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिबाटै सबै माओवादीहरुसँग औपचारिक रुपमै एकताको प्रस्ताव पारित गरेको छ । जवाफमा अरु माओवादीसँगै डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले पनि मुख खोलेको छ ।

नयाँ शक्ति पार्टीले माओवादी केन्द्रसँग एकताको कुनै संभावना नै नरहेको जवाफ दिएको हो । नयाँ शक्ति पार्टीको तेस्रो संघीय परिषद् बैठकपछि आज काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा नयाँ शक्तिका संयोजक डा. भट्टराईले यस्तो जवाफ दिएका हुन् ।

उनले केहि मुद्धामा एक हुन सक्ने भएपनि एकता भने हुन नसक्ने बताए । पत्रकार सम्मेलनमा भट्टराईले समाजवादी फोरमसंगको एकता प्रयास पनि असफल भएको स्वीकार गर्दे दुई नम्बर प्रदेशको स्थानीय चूनावमा तालमेल हुन सक्ने बताए ।

प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद, निर्वाचन खर्च राज्यले वेहोर्ने परिपाटी कायम गर्नु अनिवार्य भएको भन्दै यी मुद्दाहरुका पक्षमा वृहद् राष्ट्रिय जनआन्दोलन निर्माण गर्नु ऐतिहासिक आवश्यकता भएको नया शक्तिको ठहर छ ।

त्यस्तै मधेसी, जनजाति, थारु, महिला, दलित, मुस्लिम लगायत सबै सीमान्तकृत समूह र समुदायका जायज मागहरुको यथोचित सम्बोधन हुने गरी संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन पनि सो पार्टीले जोड दिएको छ ।

बैठकले संघीय कार्यकारी समिति भंग गर्दे भट्टराईलाई संयोजकमा चुनेको छ । बैठकमा सबै संघीय कार्यकारी समितिका सदस्यहरुले राजीनामा दिएका छन् ।

यससँगै सबै संघीय परिषद्को सदस्य भएका छन् । बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले पार्टी पुनर्गठनको प्रस्ताव राखेको पत्रकार सम्मेलनमा जानकारी दिईयो । बैठकले समसामायिक प्रस्ताव पनि पारित गरेको नया शक्ति नेपालले जनाएको छ ।