२५ मंसिर, एजेन्सी । नागरिकता संसोधन विधयेकको भारतको पूर्वी क्षेत्र असममा तनाव सिर्जना भएको छ । विधयेकको विरोधमा असममा बुधबार विरोध प्रदर्शन गरिएको छ । यसको अलावा भारतको त्रिपुरामा विरोध भइरहेको छ । प्रहरीले असमको भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको छ ।

गुवाहाटी प्रहरी कमिश्नर दीपक कुमारका अनुसार गुवाहाटीमा साँझ ६ः१५ देखि कर्फ्यू जारी गरिएको छ । अवस्था सामान्य नभएसम्मको लागि कर्फ्यू जारी रहने प्रहरीले जनाएको छ । आन्दोलनपछि तिनसुकिया र लुम्डिंक्ष् डिभिजनको १२ वटा रेलहरुको रद्द गरिएको छ भने बाँकी १० वट रेलको सेवा आंशिक रुपमा बन्द गरिएको छ । त्यसैगरी लखीमपुर, दिसपुर, तिनसुकिया, धेमजी, डिब्रुगढ, चराईदेव, सिवासागर, जोरहाट, गोलाघाट, कामरुप (मेट्रो) र कामरुपमा साँझ ७ बजेदेखि बिहीबार दिउँसो १२ बजेसम्मको लागि इंटरनेट सेवा बन्द गरिएको छ ।

असमको दिसपुरमा जनता भवनको अगाडि प्रदर्शनकारीहरुले बस जलाएका थिए भने अन्य सार्वजनिक सम्पतिमाथि पनि तोडफोडको क्रम जारी रहेपछि प्रशासनले कर्फ्यू लगाएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ । प्रदर्शन उग्र भएपछि स्थानीय सरकारले सेना परिचालन गरेको छ । असम र त्रिपुरामा सेनाको तीन टोली परिचालन गरिएको छ । दुई टोली त्रिपुरा गएको छ भने एक टोली असममा छ ।

विधेयकमा छिमेकी देशहरुबाट शरणको लागि भारत आएका हिन्दु, जैन, बौद्ध, सिख, पारसी र ईसाई समुदायको मानिसहरुलाई भारतीय नागरिकता दिने प्रावधान छ । विधयकले पाकिस्तान, अफगानिस्तान र बांग्लादेशबाट गैर मुसलमान अवैध प्रवासीहरुलाई भारतीय नागरिकता दिनको लागि नियमहरुमा छुट दिने प्रावधान छ । भारतको पूर्वी क्षेत्र बांग्लादेशको सिमानामा पर्छ । मोदी सरकारले हिन्दु मतदाताहरुको मत पाउनको लागि आप्रबासी हिन्दुहरुलाई धमाधम नागरिकता दिएको भन्दै स्थानीयहरुले विरोध जनाइरहेका छन् ।