२० माघ, काठमाडौं । स्थानीय तहको चुनाव घोषणा गर्ने भनिएको मन्त्रीपरिषद्को बैठक सकिएको छ । सिंहदरबारमा बसेको बैठकले चुनावको मिति नतोकिकन निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगलाई लिखित पत्र पठाउने निर्णय गरेको छ ।

बैठकले २०७४ बैशाख मसान्तदेखि जेठको १० गतेभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी निर्वाचन आयोगलाई लिखित निर्देशन दिने निर्णय लिएको हो । सरकारले आयोगलाई निर्वाचनको तयारी गर्न निर्देशन दिएसँगै स्थानीय तह निर्वाचनबारे अन्यौलता हटेको सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले बताए ।

चुनाव घोषणा: प्रचण्डले यसरी गर्दैछन् बठ्याईँ !

सरकारको औपचारिक पत्राचारपछि आयोगलाई चुनावको तयारी गर्न बाटो खुलेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान संसोधन विधेयक पारित नभई चुनावको मिति नतोक्न दबाब दिएकाले सरकारले ठ्याक्कै मिति तोक्न नसकेको हो ।

बैठकले निर्वाचनको वातावरण बनाउन अन्य दलहरुसँग छलफल तिब्र पार्ने निर्णय पनि गरेको छ । बैठकले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन अध्ययन तथा सुझावका लागि स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ ।

कार्यदलमा आपूर्ति मन्त्री दीपक बोहरा र उद्योगमन्त्री नबीन्द्रराज जोशी सदस्य रहेका छन् । कार्यदललाई मूख्यतः २ नम्वर प्रदेशको स्थानीय तह निर्धारणबारे सुझाव दिन कार्यदेश दिइएको छ ।

 बैठकले चीनको गोञ्जाओको महावाणिज्य दुतमा सहसचिव रबि भण्डारीलाई पठाउने निर्णय गरेको छ । त्यसै गरी बैठकले तनहूँको बालिङ, खरेपानी क्षेत्रभित्रका ८ वटा जङ्गलमा चीडियाखाना निर्माण गर्ने निर्णय पनि गरेको छ ।

बैठकले शिशिर ढुङ्गानालाई सचिवमा बढुवा गरेको छ भने यमकुमारी खतिवडालाई कामु सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।

त्यसैगरी आजको बैठकले सबै मन्त्रालयहरुमा पूँजीगत खर्च कम र चालु बढी देखिएकोबारे अध्ययन गर्न अनुगमन समिति बनाउने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए।