१६ फागुन, काठमाडौँ।

स्वास्थ्यन्त्री गगनकुमार थापाले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न नसके सरकारको औचित्य समाप्त हुने बताएका छन्।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले वर्तमान सरकार नै निर्धारित मितिभित्रै तीन वटै तहको निर्वाचन गर्न गठन भएको स्पष्ट पार्दै भने,‘यो सरकार नै आगामी ०७४ माघ ७ गतेभित्रै तीन तहको निर्वाचन गर्न गठन भएको हो, निर्वाचन नै गर्न नसक्ने अवस्था आयो भने सरकारको औचित्य समाप्त हुन्छ, यो कुरा स्वयम प्रधानमन्त्रीले नै भन्नुभएको छ, त्यसैले हामी निर्वाचन सफल बनाउन खरो उत्रिन्छौं।’

उनले घोषित मिति मै स्थानीय तहको निर्वाचन गर्ने कुरामा सरकार अलमलमा नरहेको जिकिर गर्दै भने,‘बैशाख ३१ गते नै निर्वाचन हुन्छ, सरकार अलमलमा छैन, निर्वाचन गराउन नसक्ने हो भने सरकारको औचित्य समाप्त हुन्छ, सरकार हुनुको अर्थ हुँदैन, सरकार लम्ब्याउने र तन्क्याउनेको अर्थ हुँदैन।’

उनले नेकपा (एमाले)को संविधान संशोधन गर्न हुँदैन भन्ने र मधेसी मोर्चाको संविधानले केही पनि दिएन भन्ने सोच नै अतिवादी रहेको गुनासो पोख्दै भने,‘उनीहरु यीनै एजेण्डा लिएर चुनावमा जान्छन्, तर हामी मध्यमार्गी बाटोमा मुलुकलाई निकास दिने एजेण्डा लिएर चुनावमा जान्छौं।’

मन्त्री थापाले परिणामुखी कामका लागि आफु सदैव लागिरहेको बताउँदै कर्मचारीको सहयोगबाट सन्तुष्ट रहेको विश्वास व्यक्त गरे। उनले भने, “अहिले गरिरहेको कामलाई निरन्तरता दिए स्वास्थ्य क्षेत्रले ठूलो फड्को मार्छ, यहाँ जे नयाँ काम गर्न खोज्यो, त्यहाँ केही न केही पहिला नै आधार तयार भैसकेको छ, जोड्ने काम मात्रै हो, त्यति गरे धेरै गर्न सकिन्छ, यसको लागि म लागिपरिरहेको छु।”

उनले सरकारको जुनसुकै निकायमापनि जोखिम मोल्दा पुरस्कार पाईन्छ भन्ने संस्कार बसाल्न सके अहिलेको भन्दा ५० औं गुणा बढि काम गर्न सकिने दाबी गरे। थापाले भने,‘नेपालका कर्मचारीहरु रिस्क लिन चाहँदैनन्, किनकी उनीहरुलाई रिस्क लिँदा पुरस्कार पाईन्छ भन्ने कुरा केही छैन, उल्टै खतरा छ भन्ने भान हुन्छ, गलत काम हुन्छ कि भनेर नेपालमा धेरै कानून तथा नीतिहरु बनेका छन्।’

त्यस्तै उनले मानव अंग दान गर्न रहेका केही कानूनी जटिलताहरु फुकाईसकेको जानकारी दिँदै भने,‘अब मानव अंग दान गर्न चाहानेहरुले गर्न सक्नुहुन्छ, ब्रेन डेथ भएकाहरुले आफ्नो अंग अरुलाई दान गरेर जीवन बचाउन सकिन्छ, मैले आम नागकिरलाई सचेतना होस् भनेर आँफैले हिजो अंग दानको घोषणा गरेको छु।’

हालै सरकारले गरेको राजदुत सिफारिशबारे के भन्नुहुन्छ भन्ने प्रश्नमा उनले भने,‘राजदुत सिफारिश गर्दा एकैचोटी नाम पेश भयो, यसबारमो अनुभवी मन्त्रीज्यूलेपनि प्रश्न उठाउनुभएको हो, एकैचोटी नाम आएपछि प्रश्नहरु उठाउनुभएकै हो, नाम, विवरण र योग्यता के हो? भनेर विस्तृत अध्ययन गर्न दिईएन।’ थपाले सिफारिश राजदुतमध्ये केहीको नाम सरकारले फिर्ता लिएको छ नि भन्ने कुरा आफूलाई अहिलेसम्म जानकारीमा नआएकोले भोलि बस्ने मन्त्रिपरिषदको बैठपछि मात्रै भन्न सकिने स्पष्ट पारे।