१६ फागुन, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपचाररत उपराष्ट्रपति नन्दबहादुर पुनको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । प्रचण्डले नर्भिक अस्पताल थापाथली पुगेर उपराष्ट्रपति पुनको स्वास्थ्य अवस्था बारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेका छन् ।

त्यस्तै उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले पनि अस्पताल पुगेर उपराष्ट्रपति पुनलाई भेटी स्वास्थ्य लाभको कामना गरेका छन् ।

यसैबीच उपराष्ट्रपतिको स्वास्थ्यमा हिजो साँझदेखि नै क्रमिक सुधार आईरहेको अस्पतालले जनाएको छ । चार दिन पहिलेदेखि रिंगाटा लाग्ने, वान्ता आउने, ज्वरो आउने जस्ता समस्या रहेको र निवासमै उपचार गर्दा समस्या कम नभएपछि हिजो राती उनलाई थप उपचारको लागि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

उपराष्ट्रपति पुनको उपचारमा डा. मधु घिमिरे र डा. शिवजी विक्रम सिलवाल संलग्न छन् । डाक्टरहरुले उनको शरिरमा सोडियम र पानीको मात्रासमेत कम देखिएको बताएका छन् ।