१७ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र उपमहानगरको प्रमुखको उम्मेदवार टुंगो लगाएको हो । नेकपाले सबैले चासोका साथ हेरेको प्रतिनिधिसभा चुनाव हुने कास्की २ मा स्वर्गी रबिन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रदेश सभा सदस्यका लागि भक्तपुर १ (क) मा देवीप्रसाद ढकाल र दाङ ३ (ख) मा विमला वलीलाई उम्मेदवार बनाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए । वली यसअघिका प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी श्रीमती हुन् । उत्तरकुमारको सवारी दुर्घटनामा परि निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

बाग्लुङमा २ (ख) मा भने नेकपाले राष्ट्रिय जनर्मोाका उम्मेदवारलाई नै समर्थ गर्ने निर्णय गरेको छ । धरान उपमहानगरपालिकाको प्रमुखमा प्रकाश राईलाई टिकट दिने निर्णय नेकपाले गरेको प्रवक्ता श्रेष्ठले बताए ।