काठमाडौं, ४ बैशाख । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) पहिलोपटक अन्तरिक्षमा बुधबार राति प्रक्षेपण गरिने भएको छ । जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका नेपाली विद्यार्थीले तयार गरेको स्याटेलाइट प्रक्षेपण गर्न लागिएको हो ।

स्याटेलाइट आज बुधबार राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले जनाएको छ । यो नानो स्याटेलाइटको नाम ‘नेपाली स्याट वान’ राखिएको छ । अमेरिकाको भर्जिनियामा रहेको वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट जापान र श्रीलंकाका नानो स्याटेलाइटँगै नेपालको स्याटेलाइट पनि प्रक्षेपण गर्न सबै तयारी सकिएको छ । यो स्याटेलाइट अन्तरिक्षमा पुग्न करिब एक महिना समय लाग्ने अनुमान गरिएको नास्टले जनाएको छ ।

स्पेश इन्जिनियरिङको पीएचडीका विद्यार्थी आभाष मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठले भू उपग्रह तयार गरेका हुन् । स्याटेलाइट १० सेन्टिमिटर लम्बाई, चौडाई र उचाई भएको छ । सजिलै हातमा बोक्न सकिने स्याटेलाइटमा नेपालको झण्डा छ भने नाष्टको लोगोसहित विद्यार्थीहरुको नाम पनि उल्लेख गरिएको छ ।

स्याटेलाइटको तौल एक किलो तीन सय ग्राम रहेको छ । यसमा नेपाल सरकारले एक करोड ८२ लाख रुपैयाँ खर्चेको छ । प्रक्षेपणका लागि अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल ए टिकेलाई स्याटेलाइट हस्तान्तरण भइसकेको छ । नेपाली स्याट वानले प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउनेछ । दिनमा १६ पटक पृथ्वीमा चक्कर लगाउँदा यो चारपटक नेपालको आकाशमा आउने नास्टले जनाएको छ ।