३१ साउन, काठमाडौं ।
नेपाल र चीनबीच चिनियाँ निजी क्षेत्रको लगानी भित्र्याउने वातावरण बनाउने सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार नेतृत्वको नेपाली टोलीबीच द्विपक्षीय वार्ता भएपछि उक्त समझदारीमा हस्ताक्षर भएको हो ।

सडक, सुरुङमार्ग, विद्युत ट्रान्समिसन लाइन निर्माण र उत्पादनमा लगानी आकर्षित गर्ने सरकारी योजना रहेको नेपाली प्रतिनिधीले जनाएका छन् । त्यस्तै भूकम्पपछिको पुनर्निर्माणका लागि एक अर्ब चिनियाँ आरएमबी अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउने बिषयमा पनि सम्झौता भएको छ ।

सम्झौता अनुसार १५ अर्ब नेपाली रुपैयाँ थप सहायता आउनेछ । यो रकम अरनिको राजमार्गको स्तरोन्नती तथा रसुवाको टिमुरेमा पुल निर्माणका लागि खर्च गरिनेछ । यस्तै, पेट्रोलियम पदार्थ र ग्यास अन्वेषणका लागि सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी सम्झौता पनि भएको छ ।

अर्थसचिव शान्तराज सुवेदी र चिनियाँ वाणिज्य उपमन्त्री यु जियाङहुवाले एक समझदारी र दुई सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । द्विपक्षीय वार्तामा नेपालले तातोपानी नाका सञ्चालनमा ल्याउन विशेष आग्रह गरेको थियो । जसमा चिनियाँ पक्षले सैद्धान्तिक सहमति जनाएको बताईएको छ ।