२९ वैशाख, काठमाडौं ।

चीनले अघि सारेको वान बेल्ट वान रोड (ओबिओआर) अवधारणाको समझदारी पत्रमा आज नेपाल र चीनबीच हस्ताक्षर भएको छ ।

परराष्ट्र मन्त्रालयमा बिहान आयोजित विशेष समारोहमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदाश वैरागी र नेपालका लागि चिनियाँ राजदुत यु होङले हस्ताक्षर गरे ।

हस्ताक्षर समारोहलाई संवोधन गर्दै परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले ओबीओआर सम्झौता दुई देशको सम्बन्धमा महत्वपूर्ण कदम भएको बताए । ओबीओआर फ्रेमवर्कले नेपाल र चीनलाई सडक सञ्जालमार्फत् जोड्ने भएकाले नेपालको आर्थिक सम्वृद्धिमा कोशेढुंगा सावित हुने मन्त्री महतको विश्वास छ ।

समझदारी पत्रमा हस्ताक्षर गरेसँगै नेपाल पनि ओबीओआरको साझेदार राष्ट्र बनेको छ । गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको थियो ।

चीनले ओबीओरका साझेदार राष्ट्रहरुको सडक यातायात, रेलमार्ग निर्माण, पूर्वाधार विकास, व्यापार प्रवद्र्धनलगायत विभिन्न क्षेत्रमा लगानी गर्ने बताउँदै आएको छ ।

आजै उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा नेतृत्वको टोली चीनमा आयोजना हुने ओबीओआर शिखर सम्मेलनमा भाग लिन बेइजिङ जाँदैछ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले अघि सारेको विश्वब्यापी सडक सञ्जाल अवधारणा आबीओआरमा एशिया र अफ्रिकाका ६० भन्दा बढी देश समेटिएका छन् ।