२९ वैशाख, काठमाडौं ।

प्रतिपक्षी दलको भूमिका सरकारले गरेका कामको ‘चेक एण्ड व्यालेन्स’ गर्ने पनि हो । सरकारले राम्रो काम गर्दा प्रशंसा र सहयोग गर्ने र गलत काम गर्न थाल्यो भने खवरदारी गर्ने हो ।

पछिल्लो समय नेपालका प्राय सबैजसो प्रतिपक्षी दलहरुको भूमिका नै सरकारले गरेका हरेक कामको विरोध मात्र गर्नु हो भन्ने जसरी प्रस्तुत हुने गरेका थियो ।

तर सरकारले आजमात्र गरेको एउटा महत्वपूर्ण काममा प्रतिपक्षी दलले खुलेरै स्वागत गरेका छन् । चीनले अघि सारेको वान बेल्ट वान रोड (ओबिओआर) अवधारणाको समझदारी पत्रमा हस्ताक्षर गरेपछि प्रतिपक्षी दलहरुले खुलेरै स्वागत गरे ।

परराष्ट्र मन्त्रालयमा बिहान आयोजित विशेष समारोहमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदाश वैरागी र नेपालका लागि चिनियाँ राजदुत यु होङले हस्ताक्षर गरे ।

याे पनि पढ्नुस: नेपाल पनि अव ओबीओआरको साझेदार राष्ट्र

उक्त कदमलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफ्नो पार्टीलाई जस जाने गरी ट्विट गर्दै भनेका छन्, ‘एमाले सरकारको बेलामा शुरु भएको ओबिओआरमा नेपालको सहभागिताले आज औपचारिकता पाएको छ । राम्रो काम ।’

त्यस्तै केही समयअघि सरकारबाट बाहिरिएर प्रतिपक्ष बनेका राप्रपाका अध्यक्ष कमल थापाले पनि ट्विट मार्फत स्वागत गरेका छन् । ‘ओबिओआर ‘वान बेल्ट वान रोडू समझदारी पत्रमा चिनसँग हस्ताक्षर भएकोमा अत्यन्त खुसी लागेको छ ।’

सभामुख ओनसरी घर्तीले सरकारले राम्रो काम गरेको भन्दै अव नेपालको सम्भावनाका ढोकाहरु खुलेको टिप्पणी गर्दै भनेकी छन्, ‘वान बेल्ट वान रोड कार्यक्रममा नेपालले हस्ताक्षर गरेसँगै संभावनाका धेरै बाटा खुलेका छन्, अब हामीले यो कार्यक्रमलाई देश हितमा सदुपयेग गर्नुपर्छ।