१८ असोज, काठमाडौं । वडादशैंको अवसरमा नेपाल प्रहरीले निशुल्क बस सञ्चालन गर्ने भएको छ । प्रहरीले आज एक विज्ञप्ति सार्वजनिक गर्दै नागरिक सहजताको लागि निशुल्क बस सञ्चालन गर्न लागेको बताएको हो ।

प्रहरीले असोज १८ गते (महाअष्टमी)देखि असोज २० गते(विजया दशमी)सम्म दिउँसो ११ बजेदेखि बेलुकी ४ बजेसम्म दुई रुटमा बस सञ्चालन गर्ने जनाएको छ । पहिलो रुट प्रहरी प्रधान कार्यालय नक्सालबाट शुरु भई पुतलीसडक, माईतीघर, कुपन्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कंलकी, कालीमाटी, त्रिपुरेश्वर, नाथस्थान, रत्नपार्क, दरबारमार्ग, जय नेपाल हल हुँदै पुनः नक्साल पुग्ने छ ।

त्यसैगरी दोश्रो रुटको गाडी नक्सालबाट शुरु भएर मैतीदेवी, गौशाला, काटेश्वर, तीनकुने, बबरमहल, माईतीघर, त्रिपुरेश्वर, नागस्थान, लैनचौर, लाजिम्पाट, महराजगञ्ज, बालुवाटार हुँदै पुनः नस्साल पुग्ने छ ।

प्रहरीले यसअघि पनि चाडबाडको समय तथा अन्य विशेष समयमा निशुल्क बस सेवा सञ्चालन गर्दै आएको छ । यस्तै नेपाली सेनाले पनि निशुल्क बस सेवा सञ्चालन गर्ने शुक्रबार जानकारी गराएको थियो ।