५ भदौ, काठमाडौं ।

मौद्रिक नीति र राजनीतिक सहमतिका कारण लगातार उकालो लागेको शेयरबजार परिसूचक नेप्से हालसम्मकै उच्चअंकमा पुगेको छ । साताभरमै ८८ अंकले बढेर १२ सय पुगेको नेप्सेमा नयाँ रेकर्ड कायम भएको हो । सातवर्षअघिको उच्चअंकको रेकर्ड तोड्दै नेप्से करीब १ हजार २ सय अंक नाघेको यो साता मात्रै करीब ५ अर्ब रुपैंयाँको शेयर कारोबार भएको छ ।यो साता आएको उच्च सुधारले शेयरबजार परिसूचक नेप्से हालसम्मकै उच्च अंक १२ सय नाघेको छ ।

नेप्से परिसूचक साताको पहिलो दिनको तुलनामा ८८.८७ अंकले बढेर अन्तिम दिन १२००.९२ अंकमा पुगेको हो । सातामा करीब ५ अर्ब रुपैंयाँको शेयर कारोबार भएको छ । कारोबार भएका सबै समूहका परिसूचकमा आएको उच्च सुधारले नेप्सेमा उच्च वृद्धि आएको हो । जलविद्युत र व्यापार समूहको परिसूचकमा भने साताको पहिलो दिनको तुलनामा अन्तिम दिन गिरावट आएको छ । समूहगत परिसूचकतर्फ क्रमशः होटल, बिमा, वाणिज्य बैंक, उत्पादनमूलक, अन्य, विकास बैंक र वित्त समूहका परिसूचकमा सबैभन्दा बढी सुधार आएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २१.०४ अंकले बढेर २६२.१० अंकमा आईपुगेको छ ।यो साता शेयरबजारमा उच्च सुधारले दिनदिनै नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन सातवर्षअघिको १ हजार १ सय ७५ अंकको उच्च रेकर्ड तोड्दै १ हजार १ सय ९२ अंकनजीक पुगेको नेप्से परिसूचक बिहीबार पुनः ९ अंकले बढेर १ हजार २ सय अंक नाघेको हो । यो अंक हालसम्मकै उच्च हो ।

nepse going up

१२ बजे खुलेको शेयरबजारमा आधा घण्टामै १ हजार २ सय २१ अंक नाघेको नेप्से परिसूचक विस्तारै संहालिएर १ हजार २ सय अंकमा सीमित भएको थियो ।यस साता नेपाल स्टक एक्सचेन्जमा १६९ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २४६३५ कारोबारबाट चार अर्ब ९३ लाख नौ हजार रुपैयाँ बराबरका ८४ लाख २६ हजार चार सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २६.१२ प्रतिशत बढि हो । गत साता १६८ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २१४८७ कारोबारबाट तिन अर्ब १८ करोड १२ लाख २७ हजार रुपैयाँ बराबरका ५५ लाख ६४ हजार चार सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

यससाता २१ करोड ९० लाख ८० हजार रुपैयाँको कारोबारबाट कारोबार रकमका आधारमा एभरेस्ट बैंक अग्रस्थानमा रहेको छ । सबैभन्दा बढी रकमको शेयर कारोबार भएको एभरेष्ट बैंकलाई ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकका संस्थापक, नेपाल बंगलादेश बैंक र एनआईसी एशिया बैंकले पछ्याएका छन् । त्यसैगरी १५ लाख ११ हजार कित्ता शेयर किनबेचबाट कारोबार भएको सेयर संख्याको आधारमा नविल ब्यालेन्स फन्ड १ अग्रस्थानमा छ । त्यसैगरी १३७१ वटा कारोबार गर्दै कारोबार संख्याको आधारमा सेन्चुरी कमर्सियल बैंक अग्रस्थानमा रहेको छ । सातामा ५ दिन खुलेको शेयरबजारमा संस्थागत तथा सरकारी ऋणपत्रको कुनैपनि कारोबार भएन भने मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका २ लाख कित्ता साधारण शेयर कारोबारका लागि सूचीकृत भएको छ ।लगातार आक्रामक सुधारको क्रममा रहेको शेयरबजारमा बैंक तथा वित्तीय संस्थाहरुको डिम्याट कारोबारले अझ नेप्से बढाउनका लागि सघाएको छ । यसले राफराफ तत्काल गर्न र कारोबार सहज रुपमा गर्न सकिने भएपछि लगानीकर्ता थप आकर्षित भएका छन् ।

नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको प्रभावस्वरुप शेयरबजारमा उच्चसुधार हुनथालेको थियो । मौद्रिक नीतिले दुई वर्षभित्र बैंक तथा वित्तीय संस्थाले कम्तीमा चारगुणाले चुक्तापूँजी वृद्धि गर्नुपर्ने व्यवस्था गरेपछि उच्च प्रतिफल पाइने आशामा लगानीकर्ता शेयरबजारमा ओइरिएका छन् । बैंकहरुको नाफा अत्यधिक बढेको वित्तीय विवरण सार्वजनिक हुन थालेपछि पनि शेयरमा आकर्षण बढेको छ । त्यस्तै राजनीतिक तरलतामा सुधार आउने अपेक्षाले पनि शेयरमा लगानी आकर्षित भएको छ । निकट भविश्यमै संविधान जारी हुने र आर्थिक विकास गतिशील हुने अपेक्षाले पनि शेयरबजारले उच्च सुधारको गति लिनुमा बल पुगेको छ ।