२४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्‍य यही गतिमा सुधार हुँदै गएमा अबको केही दिनमै डिस्चार्ज गरिने चिकित्सकहरूले बताएका छन् ।

हाल ओलीको प्रत्यारोपित मिर्गौलाले राम्रोसँग काम गरिरहेको प्रधानमन्त्री ओलीका निजी चिकित्सक तथा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा दिव्या सिंह शाहले बताइन् । उनका अनुसार चिकित्सकको उच्‍च निगरानीमा आइसियुमा राखिएका प्रधानमन्त्रीको मुख्‍य स्वास्थ्य सूचक राम्रो छ ।

संक्रमणको जोखिम हुने भएकाले प्रधानमन्त्री ओलीलाई अस्पतालको आसियुमा चिकित्सकहरूको उच्‍च निगरानीमा राखिएको उनको भनाइ छ । संक्रमणबाट जोगाउन प्रत्यारोपण गरेको आज चौथो दिनसम्म पनि चिकित्सकहरूले उपचारमा संलग्‍न चिकित्सक र निजी चिकित्सकबाहेक अरूलाई भेटघाट गर्न दिएका छैनन् । जसले गर्दा प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि अहिलेसम्म भेट्न पाएकी छैन ।

प्रत्यारोपण गरिएको बिरामीलाई अगंदान गर्ने व्यक्तिले भेट्न इच्छा देखाए चिकित्सकहरूले भेट्न दिने भए पनि प्रधानमन्त्री ओलीलाई मिर्गौला दान दिने भाञ्‍जी समीक्षा संगौला ज्ञवाली पनि अहिले शिक्षण अस्पतालमै आराम गरिरहेकाले अहिलेसम्म उनले पनि भेट्न पाएकी छैनन् ।