एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले किर्गिस्तान जानका लागि पाकिस्तानको आकाश प्रयोग नगर्ने भएका छन् ।

मोदी किर्गिस्तानको राजधानी विश्केकमा आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ) सम्मेलनमा सहभागी हुन बुधबार जाँदैछन् । त्यसका लागि हवाइ क्षेत्र खुला गरिदिन भारतले आइतबार पाकिस्तानलाई अपिल गरेको थियो । पाकिस्तानले त्यसलाई स्वीकार्दै हवाइ क्षेत्र प्रयोग गर्ने अनुमति पनि दियो । तर अन्तिममा भारतीय विदेश मन्त्रालयले बुधबार मोदीले पाकिस्तानको आकाश प्रयोग नगर्ने स्पष्ट पारेको हो ।

सम्मेलनमा जानका लागि भारत सरकारले दुई वटा विकल्प तय गरेको थियो । अब मोदी ओमान, इरान र मध्य एशियाका देशको बाटो भएर किर्गिस्तान जानेछन् । बिहीबार र शुक्रबार हुने सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान पनि सहभागी हुनेछन् ।

पाकिस्तानलाई अपिल गरेर उसको आकाश प्रयोग नगर्ने मोदीको निर्णयले भारतले पाकिस्तानलाई तौलिन खोजेको टिप्पणी गरिएको छ ।