काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय पुनर्गठन गरेका छन् । कतिपय सल्लाहकारहरुलाई प्रभावकारी काम गर्न नसके पछि पदमुक्त गरिएको छ भने केही नयाँ अनुहार थपिएका छन् । बिदाई पाउँनेमा जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस सल्लाहकार कुन्दन अर्याल, प्रेस संयोजक चेतन अधिकारी सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेल छन् ।

तर प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल, बिदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारी, स्वकीय सचिव राजेश बज्राचार्य, स्वकीय उपसचिव दिपेन्द्र दाहालले निरन्तरता पाएका छन् ।

प्रधानमन्त्री ओलीले नेकपाका युवा नेता सूर्य थापालाई प्रेस सल्लाहकारमा नियुक्त गरेका छन् । थापाको नियुक्तले अब मिडिया र सरकार बीचको सम्बन्ध सुधार हुने अपेक्षा प्रधानमन्त्री सचिवालयले गरेको बताइन्छ । नवनियुक्त प्रेस सल्लाहाकार थापा नेकपाका केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख हुन । उनले झलनाथ खनाल नेतृत्वको सरकारमा प्रधानमन्त्रीको प्रेस सल्लाहाकारको रुपमा काम गरेका थिए ।

थापासंगै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा लालशंकर घिमिरे र बिकास बिज्ञमा गजेन्द्र थपलिया नियुक्त भएका छन् । घिमिरे पूर्व सचिव हुन भने ईन्जिनियर थपलिया ओली नेतृत्वको अघिल्लो सरकारमा पनि बिकासबिज्ञका रुपमा रहेका थिए ।