ramchandra jha७ चैत, काठमाडौ । नेपालको नक्कली नागरिकता लिएको भन्दै एमालेमा निकै विवादित बनेका एमालेका नेता रामचन्द्र झा अहिले निस्कृय छन् । पार्टीभित्र उनको नागरिकता र पहिचानलाई लिएर निकै विवाद भएपछी अशोक राईतर्फ लागेका उनी अशोक राईले पनि नटेरेपछी निस्कृय रहेका छन् ।
राजनीतिमा लागेका नेतालाई कुनै पार्टीमा नलागी निस्कृय बस्नु निकै गाह्रो कुरा हो । त्यसैले उनी अहिले एमाओवादीको शरणमा आउने तयारीमा छन् । यस्तै एमाओवादी पनि उनलाई पार्टीमा ल्याउन आतुर देखिएको छ । पार्टी स्रोतका अनुसार रामचन्द्र झालाई पार्टीमा ल्याउन पार्टीले पनि निकै ठूलो कसरत नै गरेको छ । एमालेबाट पूर्व मन्त्री समेत बन्न भ्याएका नेता रामचन्द्र झालाई एमाओवादीले स्थायी कमिटिको लोभ देखाएर पार्टीमा प्रवेश गराउने तयारी गरेको स्रोतको दावी छ । उनलाई पार्टीले धनुषामा आयोजित एक कार्यक्रममा आगामी चैत ९ गते पार्टीमा प्रवेश गराउने तयारी गरिएको बुझिएको छ । उनलाई स्वयं एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नै पार्टीमा टिका तथा फुलमाला दिएर पार्टीमा प्रवेश गराउने तयारी भइरहेको बताइएको छ ।
यसरी भारतीय नेता भनेर एमालेबाट लखेटिएका झालाई अंगाल्नु एमाओवादीका लागी झन् अप्ठ्यारो हुने देखिन्छ । भारतीय नागरिक भएपनि एमालेमा नै रहेर मन्त्री समेत बन्न भ्याएका उनले एमालेबाट लखेटिएपछी एमाओवादीमा लागेर आफ्नो राजनीतिक यात्रालाई थप सहज बनाउन लागेको देखिन्छ तर यता भारत परस्त भनेर निकै आलोचना खेपिरहेको एमाओवादीलाई भने यस कदमले थप समस्या पार्ने देखिन्छ ।