३० साउन, काठमाडौं । बाराको निजगढ नगरपालिका—७ योजना टोलस्थित कान्तिपुर पोल्ट्रि ब्रिडिङ्ग फर्मको दुर्गन्धबाट पीडित स्थानीयले उद्योग विरुद्ध धर्ना जारी राखेका छन् । तर उद्योग प्रशासनले आफूहरुको माग पूरा गर्न कुनै चासो नदिएको स्थानीयको गुनासो छ ।

उद्योग प्रशासनले पटक-पटक दुर्गन्ध नियन्त्रणका लागि लिखित सम्झौता गरेपनि कार्यान्वयन नगरेको भन्दै करिब एक सय जना स्थानीय बासिन्दा गएको बिहीबारदेखि धर्नामा बसेका हुन् । जिल्ला प्रशासन कार्यालय, नगरपालिकाको कार्यालयमा भएका वार्ताहरु निष्कर्षविहीन भएपछि स्थानीय धर्नामा उत्रिएका हुन् ।

योजना टोल सुधार समितिका अध्यक्ष शिवराम श्रेष्ठको नेतृत्वमा सुरु भएको धर्ना दैनिक रुपमा बढ्दै आज पाँचौ दिन १२ घण्टा पुर्याईएको छ । स्थानीयले माग सम्बोधन नभए पर्सि बुधवारदेखि उद्योगमा अनिश्चितकालीन तालाबन्दी गर्ने कार्यक्रम यसअघि नै सार्वजनिक गरिसकेका छन् ।

दुर्गन्ध फैलिएको भन्दै २०७२ सालदेखि नै संघर्षरत योजना टोलबासीसँग उद्योग प्रशासनले २०७२ साल असोज २९ गते र गतबर्ष चैत १३ गते दुईपटक ६ महिनाभित्र दुर्गन्ध नियन्त्रण गर्ने बाचा गरेको थियो ।

तर वाचा कागजमा मात्रै सिमीत गरी आफूहरुको स्वास्थ्यमै प्रत्यक्ष असर पर्ने गरी दुर्गन्ध फैलंदै गएपछि धर्नामा बस्नुपरेको टोल सुधार समिती अध्यक्ष श्रेष्ठले बताए ।

‘बस्तीको विचमा ह्याचरी खोल्दा दुर्गन्धले हाम्रो स्वास्थ जोखिममा परेको छ-उनले भने, स्वास्थ्यमा खेलबाड गर्न पार्इँदैन, अब उद्योग नै यहाँबाट हटाईनुपर्छ ।’ १ सय ५ घरधुरी रहेको योजनाटोलका करिब ५० घरधुरी उद्योगबाट फैलिएको दुर्गन्धबाट प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।

दुर्गन्धसँगै बर्षाको समयमा उद्योगमा लगाईएको पर्खालका कारण पानी निकास हुन नपाउँदा आफूहरुको घरभित्र पस्ने, किराफट्याङ्ग्राले सताउने गरेको स्थानीय विण्णु प्रसाद आचार्यले बताए ।

यस्तैगरी उद्योगले फालेको फोहोरका कारण भमरा खोला छेउका नम्बरी जग्गाका रुखहरु मरेका स्थानीयले बताएका छन् । उद्योग सञ्चालक नवराज पौडेलले भने यसअघि स्थानीयसँग भएको सम्झौता अनुसार दुर्गन्ध पूर्णरुपमा नियन्त्रण गर्न नसकिएको र अब वाटरफिल्टर र चिम्नि जस्ता प्रविधिको प्रयोग गरेर दुर्गन्ध हटाउने प्रयास भईरहेको बताए ।

तर उद्योग हटाउन भने नसकिने पौडेलको भनाई छ । यद्धपी एक दुईदिनभित्र समस्या समाधान हुने उनले दाबी गरे । २०७१ सालमा करीब १६ करोडको लगानीमा स्थापित कान्तिपुर पोल्ट्रि फर्मले दैनिक १२ हजार अण्डा कुखुराको चल्ला उत्पादन गर्दै आएको छ ।