१४ पुष, एजेन्सी । लगातार मूल्य बढेपछि प्याजको चोरी सुरु हुन थालेको छ । भारतका विभिन्न शहरमा प्याज चोरीका घटना सार्वजनिक हुन थालेका छन् ।

लखनउमा पहिलोपटक प्याज चोरीको घटना सार्वजनिक भएको छ । एक पीडित पसलेले प्रहरीमा उजुरी दिँदै चोरिएको प्याज फिर्ता गराइदिन माग गरेका छन् । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको भारतीय संचारमाध्यामलृे जनाएका छन् । प्राप्त जानकारी अनुसार लखनउको थाना आलमबाग क्षेत्र अन्तर्गत मवाईया सब्जी मण्डीमा पुलको मुनी वीरेन्द्र कुमार सोनकरको तरकारी पसल छ । जहाँ उनले आलू र प्याजको विक्री गर्ने गर्दछन् ।

अवेर राति वीरेन्द्र पसलमा ताला लगाएर राति ११ बजेतिर घर जाने गर्छन् । प्याज महंगो भएका कारण वीरेन्द्र प्याज र लसुन दुवैमा जाली लगाएर त्यसमा ताला लगाएर जाने गर्दथे । सधैं जस्तो आइतबार राति ११ बजेतिर पसल बन्द गरेर वीरेन्द्र घरतर्फ लागे । तर विहान आएर पसल खोल्नेबेला थाहा भयो कि उनको पसल फुटाएर चोरले ३ बोरा प्याज र २ बोरा लसुनसहित एक हजारको सिक्का पनि चोरी भएको । वीरेन्द्रले छिमेकी पसलेहरुसँग सोधपुछ गरे तर उनको चोरीएको प्याज र लसुनबारे केही सुराक पाएनन् ।

त्यसपछि उनले नजिकैको आलमबाग थानामा उजुरी गरेका हुन् । गत हप्ता तमिलनाडुको पेराम्बलुर जिल्लामा एक किसानको खेतबाटै ३ सय ५० किलोग्राम प्याज चोरी भएको थियो । मध्यप्रदेशको मन्दरौर जिल्लाको नारायणगढ थानाका अनुसार रिछा गाउँमा एक किसानको प्याज खेतबाटै चोरी भएको थियो । झण्डै ६ क्विन्टल प्याज चोरले एक दाना पनि नराखी सखाप पारेको थियो । प्याजको मूल्य आकाशिएपछि चोरीका घटना बढेको हो ।