काठमाडौँ, ३ चैत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार अमेरिका जाने भएका छन् ।

श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि उनी अमेरिका प्रस्थान गर्न लागेका हुन् । प्रचण्डका स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली बेलुकी ५ बजे इत्तेहाद एयरवेजको विमानमार्फत् अमेरिका जाने उनको सचिवालयले जनाएको छ ।

अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीताको पार्किन्सन रोगको उपचार हुनेछ । सीतालाई मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको छ । उनको गत असोजमा सिङ्गापुरमा समेत उपचार भएको थियो ।