काठमाडौं ।

कुनै पनि देखिने सम्झौता नगरी नाकाबन्दी खुल्ने देखि भारत भ्रमण मात्र नभएर चीन भ्रमण समेत सम्पन्न गरिसकेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका सत्ता साझेदार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतलाई थप चिढ्याउन नयाँ नारा अघि सारेका छन् ।

भारतविरुद्ध पुनः मोर्चाबन्दीमा ओली-प्रचण्ड

मैले चीनसँग २ मुख्य कुरा मागेको थिएँ- प्रचण्ड

भारत विरोधी गठबन्धन (सतहमा) लाई आधार बनाएरै सत्तामा पुगेका ओली अव भारतसँग निहुँ खोज्ने मुडमा नै रहेको संकेत दिँदै नयाँ वर्ष २०७३ को पहिलो दिन पोखरामा २ नेताको उस्तै उस्तै शैलीको भाषणले भारतविरोधी मोर्चालाई थप ससक्त पार्ने मुडमा रहेको पटाक्षेप भएको छ ।

PM K. P. Sharma Oli speaks at Xi'an Medical University

नयाँ वर्षको पहिलो दिन पोखरा अन्तराष्ट्रिय विमानस्थलको शिलन्यास गरेपछि हौसिएका ओली र प्रचण्ड दुवैले भारतको टाउको दुखाइको विषय बनिरहेको चीनको केरुङ देखि नेपालको लुम्बिनीसम्म रेल सेवा विस्तारको मुद्धालाई प्रमुख एजेण्डा बनाइने उद्घोष गरे । नेपालमा सगरमाथा मुनीबाट सुरुङ्ग मार्ग हुँदै रेल आउने विषयलाई भारतीय मिडियाले धेरै अघी देखि हाउगुजीको रुपमा प्रस्तुत गरिसकेका छन् । नेपालका नेताहरुले खासै नबोल्दै कोकोहोलो मच्चाएका भारतीय मिडियालाई अव भने प्रचण्ड र ओलीले नयाँ खुराक दिएका छन् ।

Oli Prahanda at Pokhara चिनियाँ रेल नेपाल ल्याउने कुरा ब्यवहारिकरुपमा कति दीर्घकालीन परियोजना हो र यो साँच्चिकै हुन्छ कि हुँदैन भन्ने कुरा बहसकै विषय भएपनि ओली र प्रचण्डको नयाँ नारा यो बन्नु भारतका लागि भने घातक संकेत हो । भारत भ्रमणपछि पटक पटक भारतसँग असमझदारी अन्त्य भएको कुरा दोहोर्‍याएका प्रधानमन्त्री ओली पछिल्लो समयमा रोटी-बेटी सम्बन्ध भन्दैमा सबै कुरा ठिक नहुने निष्कर्षमा पुग्नु र चीनको रेल नेपालमा ल्याउनका लागि कम्मर कसेंर लाग्छौं भन्ने सन्देश दिनु भारतका लागि दीर्घकालीन रणनीतिक असफलताको विषय बन्न सक्छ । केही विश्लेषकहरुले चिन्ता गरे जस्तो नेपाल चीनसँग नजिकिने (धम्काउनका लागि मात्र नभएर वास्तवमै) अवस्था आएकै हो भने भारतीय कुटनीति एक पछि अर्को असफलता तिर पुगेको पुनर्पुस्टी मात्र हुनेछैन यसलाई मर्मत गर्न भारतले अर्को घातक रणनीति अघि सार्ने खतरा पनि बढ्ने देखिन्छ।

पेल्न खोज्ने भारतः भड्किएका ओली
ओलीले पटक पटक भन्ने गरेका छन्, “कुनै पनि छिमेकी विरुद्ध कार्ड प्रयोग गर्ने हाम्रो नीति छैन” । भड्किएको भारतलाई चित्त बुझाउन अनेकन प्रयास गरेका ओली भारतले अन्तराष्ट्रिय मञ्चमा नेपालको संविधानविरुद्ध प्रचारवाजी शुरु गरेपछि भने भड्किएको जस्तो देखिन्छ ।

Pokhara Airport Stone Laying 1

भारतको आफ्नो बन्न नसकिने निष्कर्षमा पुगेका ओलीले अव साँच्चिकै चाइना कार्ड प्रयोग गर्ने सकिन्छ भन्ने संकेत दिएका हुन् । नेपालले नेपालीको लागि संविधान जारी गर्दा भारतले नेपालको संविधान पूर्ण छ कि छैन भन्ने अधिकार नभएको भन्दै प्रधानमन्त्री केपी ओलीले नेपालमाथि हस्तक्षेप नगर्न भारतलाई चेतावनी दिइसकेको छन् । नेपालले सबैको देशको सम्मान गर्ने र छिमेकी देशबाट पनि नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको सम्मान भएको हेर्न चाहेको ओलीले बताएका छन् । यस अघि प्रचण्ड मात्र भारतसँग यसरी सिधा भाषामा बोल्ने गरेका थिए । अव ओली र प्रचण्डको लय मिलेको छ । यद्यपी यो देशको हित र सन्तुलित कुटनीतिको पक्षमा हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी छ ।

नेपालमा संविधान बन्नु अघि देखि नै भारतीय मिडियामा नेपालमा चीनले षडयन्त्र गरिरहेको भन्दै विभिन्न प्रचारवाजी चलाइरहेका थिए । मिडियाले नेपालमा चीनले ठूलो षडयन्त्र गरेर भारतमाथि घेराबन्दी गर्न खोजेको दावी गर्दै आएका छन् । चीनले भारतलाई चारैतीरबाट घेर्दै गरेको र पाकिस्तान, म्यानमार पछि अव नेपालमा समेत पसेको उनीहरुको निष्कर्ष छ । भारतीय मिडिया रिपोर्टका अनुसार-चीनले नेपालसँग रेल जोड्ने मात्र तयारी गरेको छैन नपालमा स्पेसल इकोनोमिक जोन SEZ समेत बनाउँदैछ । पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनाउन सघाउन इच्छुक देखिएको चीनले काभ्रेको पाँचखालमा विशेष आर्थिक क्षेत्र SEZ बनाउन लागेको छ । संविधान बन्ने समयमा निरन्तर चिनियाँ अधिकारीहरुको नेपाल भ्रमण भएको र चीनले प्रचण्डलाई चीन बोलाएर नयाँ संविधानको प्रक्रिया अघि बढाउन दवाव दिएको समेत दावी समेत भारतीय मिडियाहरुमा प्रकाशित रिपोर्टमा गर्ने गरिएको छ ।

नेपालमा चीनको षडयन्त्रः भारतीय मिडिया रिपोर्ट (भिडियो सहित)

ओलीको चीन भ्रमणले भारतलाई के खतराः विविसी विश्लेषण

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा भएको नेपालले क्रस बोर्डर रेल बनाउन चीनलाई प्रस्ताव गरेको थियो । प्रस्तावमा सकारात्मक देखिएको चीनले यस विषयमा धेरै बोलेको छैन । त्यति नै बेला भारतीय मिडियाले भने नेपाल चीन तर्फ ढल्किएको भन्दै यसले भारतलाई झट्का दिएको समेत भनेका थिए ।

ओली र प्रचण्डको पोखरा भाषण सांकेतिक देखिन्छ । भारतविरोधी मोर्चा कायम रहे सम्म ओली सरकार नढल्ने निष्कर्षमा पुगेका २ नेताले अव सरकारमा बसेर भारतलाई नेपालबाट चाइना कार्ड प्रयोग हुन सक्छ भन्ने सन्देश दिन चाहेको हो कि भन्ने संकेत देखिएको छ । पोखरा विमानस्थल उद्घाटनमा उत्साहित देखिएका प्रचण्ड र ओली दुवैले लुम्बिनीसम्म चिनियाँ रेल ल्याउने कुरालाई जोड दिएर दोहोर्‍याउनुले यही संकेत गर्छ । यस अघि चर्चा चल्दा नै रंगिएका भारतीय मिडियामा भन्दा बढी ओली र प्रचण्डको भाषणलाई भारतीय थिङ्क ट्याङ्क तथा साउथ ब्लकलाई बढी तरंगित पार्ने निश्चित छ ।

चीनले सीमा सम्म रेल ल्याएर नेपाल प्रवेश गर्ने संकेत देखाएपछि झस्किएको भारतीय सत्तारुढ दल भारतीय जनता पार्टिका उपाध्यक्ष भगतसिंह कोश्यारीले नेपाल भ्रमणमा भारतीय रेल नेपाल सम्म ल्याउनका लागि क्रस बोर्डर रेलमार्गबारे प्रस्ताव गरेका थिए । यद्यपी भारतले चिनियाँ रेल लुम्बिनी नपुगोस् भन्ने रणनीतिक उद्धेश्यका लागि मात्र नेपाललाई यस्ता प्रस्ताव दिने गरेको छ। चीनलाई भारतीय सीमा सम्म पुग्नबाट रोक्नु भारतको मुख्य उद्देश्य हो ।

ओली सरकारको विकल्पको रुपमा हेरिएका कांग्रेस सभापति शेरबहादुर देउवाको सन्निकट भारत भ्रमणमा यो विषयमा राम्रै छलफल हुने विश्लेषकहरु बताउँछन् । ओली र प्रचण्डको भाषणले नेपाली सत्तारुढ दलको पछिल्लो रणनीतिक नारा झल्किएको छ नै त्यो भन्दा बढी खतरा भने भारत भड्किएपछि अघि सार्ने रणनीतिले पार्ने प्रभाव नेपालीहरुका लागि महत्वपूर्ण हुने छ ।

केरूङ-काठमाडौ-पोखरा-लुम्बिनी रेलमार्ग बनाइदिन चीन तयार