१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार उनी आज डिस्चार्ज भए । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा १० दिन लामो उपचारपछि प्रधानमन्त्री ओली बिहीबार अपरान्ह अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनी डिस्चार्ज भएलगत्तै उनको उपचार खर्च पनि बाहिरिएको छ ।

एपेन्डिसाइटिस भएपछि गत मंसिर १० गते मंगलबार सेन्टरमा भर्ना भएका बिहीबार दिउँसो साढे ३ बजे प्रधानमन्त्री ओली डिस्चार्ज भएसँगै अस्पतालले उपचार खर्चबारे जानकारी दिएको हो । सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठका अनुसार प्रधानमन्त्रीको उपचारमा २ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ लागेको छ ।

सरकारी अस्पताल भएकाले प्रधानमन्त्रीको उपचारमा थोरै खर्च लागेको हो । मनमोहनमा एपेन्डिसाइटिसको अप्रेसनको १५ हजार रुपैयाँ मात्र छ । यदि १० दिन निजी अस्पतालमा बसेको भए १० लाख भन्दा मुनिको उपचार खर्च नआउने यससँग सम्बन्धित विज्ञहरुको भनाइ छ ।

मंसिर १० गते मंगलबार अस्पताल भर्ना गरेर एपेन्डिसाइटिसको अपरेशन गरेपछि प्रम ओलीलाई दुई दिनसम्म भेन्टिलेटरमा राखिएको थियो । त्यसपछि प्रम ओलीलाई मनमहोन सेन्टरको पाँचौ तल्लास्थित आईसियुमा राखिएको थियो । अहिले प्रधानमन्त्री ओलीको साथमा एक नर्सलाई बालुवाटार पठाइएको छ । ओलीको अप्रेसनपछि लगाएका सबै टाँका फुकाइएको छ ।