काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रान्डी इन्टरनेसनल हस्पिटलमा शनिबार हेमोडायलसिस गरिएको छ । क्रियाटिनिनको स्तर नियन्त्रित गर्न गरिएको हो । ६७ वर्षीय प्रधानमन्त्रीको मूत्र नली (युरेटर) अर्थात मुत्राशय र मृगौला बिचमा राखिएको स्टेन्ट समेत शनिबार नै निकालिएको छ ।

‘१७ दिन पछाडि हामीले पुनः उहाँको डायलसिस गरेका हौं’, अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले भने, ‘उहाँको स्टेन्ट झिक्यौं र स्वास्थ्य परिक्षणसमेत गर्‍यौं । मुत्राशय र मिर्गौला बिचको अवरोध आएको हो कि भनेर १८ दिन अघि प्रधानमन्त्रीको मुत्र नलीलाई फैलाउन ‘स्टेन्ट’, हालिएको थियो ।’

अस्पतालको युरोलोजी विभागका अध्यक्ष प्रा.डा.प्रेमराज ज्ञवालीको नेतृत्वमा करिव १० मिनेट लगाएर उक्त स्टेन्ट झिकिएको हो । स्टेन्ट झिक्दा प्रधानमन्त्रीलाइ नदुखोस् भनेर ‘एनेस्थेसिया’ को समेत उपयोग गरिएको थियो । अस्पतालमा प्रधानमन्त्रीको क्रिाटिनिनको स्तर, इलेक्ट्रोलाइटको स्तर, रेनल फंग्सन टेस्ट (मिर्गौलाको कार्य प्रणाली सम्वन्धी परिक्षण) लगायतका परिक्षण गरिएको थियो ।

‘पिसाबको प्रवाह धेरै राम्रो भएको छ’, डा.पाण्डेले भने, ‘उहाँको स्वास्थ्य स्थिति राम्रो छ ।’ गत साउनमा प्रधानमन्त्रीको रगतमा क्रिएटिनिनको स्तरमा वृद्घि भएपछि मिर्गौलाको समस्याको आकलन गर्दै उपचार थालिएको कान्तिपुरमा खवर छ । 

मिर्गौलासँग सम्बन्धित समस्या देखिएपछि सैनिक अस्पताल छाउनीमा गत साउनमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो । चिकित्सकको सुझाव अनुसार उनी थप फलो अपका लागि सिंगापुर गएका थिए । छाउनीमा प्रधानमन्त्रीको नियमित ल्याब परीक्षणसहित यूएसजी गाइडेड ‘रेनल बायोप्सी’ समेत गरिएको थियो ।

ओलीको शरीरमा केहि बढी मात्रामा देखिएको ‘मिर्गौला सम्बन्धि एन्टिबडी’ को मात्रा हटाउन ‘प्लाज्माफेरेसिस’ उपचार गत भदौं महिनामा नेशनल युनिभर्सिटि अस्पताल, सिंगापुरमा ७ पटक गरिएको थियो ।

प्रधानमन्त्री पदको सपथ लिनु भन्दा केहि दिन अघि मात्र ओली बैकक स्थित ब्रुमरुग्रान्ड इन्टरनेशनल हस्पिटल मा नियमित स्वास्थ्य परिक्षण गराएर फर्किएका थिए । उनको सन २००७ मा दिल्ली स्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण भएको थियो ।