३२ साउन, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख तीन दलको बैठक बोलाएका छन् । राष्ट्रिय जनता पार्टी नेपालको माग बमोजिम संसदमा पेश भएको संविधान संसोधन विधेयक पास गराउने विषयमा छलफलका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बैठकमा विशेषगरी सत्तारुढ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका प्रमुख नेताहरुले विपक्षी नेकपा एमालेलाई संसोधनको पक्षमा आउन आग्रह गर्नेछन् । आगामी भदौ ४ गते संसोधन विधेयकलाई सदनमा निर्णयार्थ पेश गर्ने तयारीमा रहेको सरकारले सकभर विधेयक पास गराउन आवश्यक दुई तिहाइ मत जुटाउन प्रयास गरिरहेको छ ।

तीन दलको बैठक लगत्तै साँझ ५ बजे बालुवाटारमै सर्वदलीय बैठक बोलाइएको सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनाएको छ । दुबै छलफलको मुख्य एजेण्डा संविधान संसोधन नै रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द परियारले जानकारी दिउ ।

यसैबीच राष्ट्रिय जनता पार्टीको माग सम्बोधनका लागि ल्याइएको संविधान संोधन विधयेक आजदेखि संसदमा अघि बढ्ने भएको छ । संसदमा दर्ता भएर राज्य व्यवस्था समितिमा पठाइएको विधयेक समिति सभापति दिलबहादुर घर्तिले आज संसदमा पेश गर्ने तयारी छ ।

आजदेखि प्रक्रिया अघि बढाउने र विधेयकलाई भदौ ४ गते आइतबार भोटिङमा लैजाने संसद सचिवालय स्रोतले जनाएको छ । संसोधन निर्णयार्थ पेश गर्दा आउने नतिजा स्वीकारेर चुनाव जान राजपा तयार भएपछि सरकारले संसोधन विधेयक अघि बढाउन लागेको हो ।