३२ साउन, काठमाडौं ।

नेपाल भ्रमणमा रहेका चिनियाँ उप–प्रधानमन्त्री वाङ याङले आज प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटवार्ता गर्दै हुनुहुन्छ । भ्रमणको तेस्रो दिन याङले आज दिउँसो प्रधानमन्त्री शेर बहादुर देउवासँग करिव ४५ मिनेट भेटवार्ता गर्ने कार्यतालिका छ ।

दिउँसो ३ बजेदेखि पौने ४ बजेसम्म प्रधानमन्त्री देउवा र याङबीच प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता हुनेछ । लगत्तै राष्ट्रपति बिद्यादेवी भण्डारी र याङबिच दिउँसो ४ बजेदेखि पौने ५ बजेसम्म भेटवार्ता हुने कार्यक्रम छ ।

प्रधानमन्त्री र राष्ट्रपतिलाई भेट्नुअघि याङले किर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा आयोजना भएको एक कार्यक्रममा सहभागी भएका छन् । उक्त कार्यक्रममा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले वाङलाई स्वागत गरेका थिए ।

त्यस्तै बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म याङ र नेपालका उद्योग–व्यावसायीबीच १ घण्टा नेपालमा चिनियाँ लगानिको सम्भावनाबारे छलफल हुने कार्यक्रम छ । साँझ ५ बजेदेखि साढे ५ बजेसम्म याङ चिनियाँ दूतवासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

यसअघि हिजो उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए । त्यसअघि हिजै उच्चस्तरीय वार्तापछि नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहयोग, पेट्रोलियम पदार्थको अन्वेषण र लगानी तथा आर्थिक सहयोग प्रवर्धननसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

४ दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौ आउनुभएका चिनियाँ उपप्रधानमन्त्री याङ भोलि बिहान ८ बजे चिनियाँ विशेष विमानबाट बेइजिङ फर्कने कार्यक्रम तय भएको छ ।