१५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । बिहीबार करिब डेढ घण्टा भएको भेटघाटमा उनीहरुबीच पछिल्लो राजनीतिक विषयको बारेमा कुराकानी भएको छ ।

प्रधानमन्त्री ओलीसँगको भेटपछि डा. कोइरालाले भने, ‘पछिल्लो समयका विभिन्न प्रकरणले सरकारका विषयमा धेरै प्रश्न उठेका छन् । यस्तो अवस्थामा तपाईंले राजीनामा दिनु उपयुक्त हुन्छ भन्ने सल्लाह दिएँ । जवाफमा उहाँले प्रतिपक्षीको भूमिका मु बुझ्छु भन्नुभयो ।’

कांग्रेस नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार प्रधानमन्त्रीसँगको भेटमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा गोकुल बाँस्कोटाको अडियो प्रकरणदेखि संविधान संशोधनसम्मका विषयमा कुराकानी भएको थियो । कोइरालाले कुनै व्यक्तिको अनुहार हेरेर संविधान संशोधन गर्दा गलत नजिर बस्ने भएकाले त्यसो नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

जवाफमा प्रधानमन्त्रीले देश अहिले अप्ठेरो अवस्थामा पुगेको भन्दै सबै मिलेर जोगाउनुपर्ने बताए। प्रतिपक्षका रुपमा कांग्रेसले आफ्नो विरोध गर्नु स्वाभाविक भए पनि आफ्नै पार्टीका नेताहरुबाट असहयोग भएको गुनासो प्रधानमन्त्रीले कोइरालासँग गरेको थपलियाले जानकारी दिए।भेटमा कोइरालाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी लिएका थिए ।