३१ जेठ, काठमाडौं । प्रमुख तीन दल र आन्दोलनरत राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको बैठक आज पनि विना निश्कर्ष टुंगिएको छ ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा बसेको बैठकमा सत्तारुढ दलहरुले राजपालाई चुनावमा आउन आग्रह गरेपनि राजपाका नेताहरुले माग पूरा नभएकाले आउन नसक्ने जवाफ दिएका थिए ।

सत्तारुढ दलका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक पटक चुनाव सार्दा अन्यौल हुने भन्दै चुनावमा आउन आग्रह गरेका थिए । उनले संविधान संसोधन चुनाव पछि गर्ने तर अहिले चुनावमा आउनुपर्ने आग्रह गरेपनि राजपाका नेताले मानेनन् ।

बैठकमा एमालेले चुनाव सार्ने कुरा आफूहरुलाई कुनै हालतमा मान्य नहुने अडान राखेको थियो । निर्वाचन आयोगसँगको परामर्शपछि भोली विहान १० बजे दलहरुको बैठक फेरि बस्ने बताइएको छ ।