१७ माघ, काठमाडौं । सुनसरीको खनारमा आज दिउँसो प्रहरी र आपराधिक समूहबीच गोली हानाहान हुँदा ३ जना घाइते भएका छन् । इटहरी १४ खनारमा भएको गोली हानाहानमा करिश्मा चौधरी, सनद पासवान र श्रवण सरदार घाइते भएका हुन् ।

विभिन्न वित्तीय संस्थामा लुटपाट गर्ने सीमा क्षेत्रबाट लागूऔषधको ओसारपसार तथा विक्री वितरण गर्ने लगायत विभिन्न अपराधमा संलग्नहरुमाथि गरिएको अपरेशनका क्रममा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते तीनै जना आपराधिक गतिविधिमा संलग्न व्यक्ति हुन् ।

प्रहरीलाई लक्षित गरी उनीहरुले गोली चलाएपछि जवाफी कारवाहीका क्रममा उनीहरु घाइते भएको प्रहरीको दाबी छ । घटनास्थलबाट प्रहरीले चार थान पेस्तो बरामद गरेको छ ।