१७ माघ, पोखरा । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको एक बर्षभित्र प्राधिकरणलाई नाफामा लैजाने घोषणा गरेका छन् ।

नेपाल साहित्य महोत्सवमा सहभागी हुन पोखरा पुगेका घिसिङले अर्को आर्थिक वर्षसम्ममा प्राधिकरणलाई नाफामा लैजाने घोषणा गरेका हुन् । त्यहि लक्ष्यका साथ आफूले काम गरेको भन्दै घिसिङले भने, कूल ३७ अर्बको घाटा शून्यमा झार्ने र नाफामा लैजानेगरी काम भइरहेको छ । अहिले भारतबाट ३ सय ४० मेगावाट बिजुली आयात भइरहेको पनि उनले जानकारी दिए ।

उनले भने ‘अब यसलाई पनि बिस्तारै न्यून गर्दै लगेर आफ्नै ठूला आयोजनालाई अघि बढाउनुपर्छ ।’ प्राधिकरणलाई नाफामा लैजाने उद्देश्यकै साथ चुहावट नियन्त्रण अभियानमा ध्यान केन्द्रित गरिएको उनको भनाई थियो ।

केही दिन अघि प्राधिकरणले चुहावट नियन्त्रण अभियान अन्तर्गत एकैपटक २५ सय कर्मचारी सरुवा गरेको थियो । आफ्नो अभियानमा सबैको साथ चाहिने पनि उनले बताए ।