‘प्लास्टिक’ र ‘पोलिथीन’ जताततै पाइन्छ। वास्तवमा, पृथ्वीको वातावरणमा यति धेरै प्लास्टिक छन् कि सन् २०५० सम्ममा समुन्द्रको माछाभन्दा बढि सङ्ख्यामा प्लास्टिक हुने अनुसन्धानकर्ताहरूले भविष्यावाणी समेत गरेका छन्।
विश्वभरी नै प्लास्टिकजन्य पदार्थको कारण वातावरणमा ह्रास हुनेबारेमा जानकारी फैलिसकेको छ, तर पनि यसको प्रयोगमा कम भएको छैन। या भनौँ, यसको विकल्पलाई मानिसहरूले राम्रोसँग मूल्याङ्कन गर्न सकेका छैनन्।
तथापी, कतिपयले भने यो समस्यालाई मनन गरेर जन-समुदायमा ज्ञान फैलाउँदै आएका छन्। साथै फालिएका र काम नलाग्ने प्लास्टिकजन्य पदार्थको प्रयोग गरेर आकर्षक अनि रोचक शिल्पकलाको निर्माण पनि गराएका छन्।
यसैबीच, गत वर्ष नाइजेरियाको एक गाउँको आर्थिक स्थितीको कारण कैयौँ बासिन्दाहरू घरबारविहिन हुन पुगेका थिए। तर, त्यहिँकै स्थानीय गैरसरकारी संस्थाको सुझावमा उनीहरूले प्लास्टिक बोत्तलको सदुपयोग गरेर घर बनाएका थिए।
ती रङ्गीचङ्गी घरहरू बनाउन सस्तो मात्रै नभई अग्नी निरोधक, बुलेट निरोधक अनि वातावरण मैत्री पनि छन्। साथै यसले करीब ७ रिक्टर स्केलको भू-कम्पलाई समेत थेग्न सक्ने सो घरका डिजाइनरले बताए। यस्तो तकनिकले घरभित्रको तापक्रमलाई पनि नियन्त्रण गर्ने अनि शून्य कार्बन-ऊत्सर्जन गर्ने डिजाइनरले बताए।
२-कोठे घर बनाउनका लागि डिजाइनरका सल्लाहअनुसार त्यहाँका बासिन्दाहरूले प्लास्टिकका बोत्तलहरूमा बालुवा भरे। त्यसलाई बलियो बनाएर अड्याउनका लागि माटो र सिमेन्टको प्रयोग गरे। यसरी बनाइएको पर्खाल सिमेन्टको ब्लकको पर्खाल भन्दा पनि बलियो र टिकाउ हुने डिजाइनरले बताए।
यसरी प्लास्टिकको बोत्तलबाट ३-तल्लासम्मको घर मात्र बनाउन मिल्दछ। त्यहाँभन्दा बढि तल्लाको बनाउँदा बालुवाको तौलले बोत्तललाई कुच्याएर पर्खाल भत्किन सक्दछ। नाइजेरियामा बनाइएका सो २-कोठे घर बनाउनको लागि करीब १४ हजार बोत्तल प्रयोग भएको थियो।
साँच्ची नै भन्ने हो भने, जस्तोसुकै जटिल समस्याको पनि समाधान हुन्छ। फेरि हामी आफैले निम्त्याएको समस्यालाई त हामी आफैले नै समाधान गर्नुपर्छ हैन र? त्यसैले हामी सबैले सकेसम्म प्लास्टिकजन्य पदार्थको प्रयोग कम नै गर्दा उचित हुन्छ।