१३ साउन, काठमाडौं ।

रक्षामन्त्री भीमसेनदास प्रधानले काठमाडौं–निजगढ दु्रतमार्ग निर्माणको लागि चाहिने ‘र–मटरिअल्स’ अर्थात विष्फोटक पदार्थ भारतसँग लिईने प्रक्रिया अघि बढिसकेको बताएका छन् ।

उनले भने, ‘फाष्टट्रयाक निर्माण कार्य अगाडि बढाउनको लागि कुराकानी भैरहेको छ, नेपाली सेनाको आग्रह अनुसार नै उक्त निर्माण कार्य प्रारम्भ गर्न केही अत्याधुनिक र–मटरियल्स् चाहिने भएकोले उक्त विष्फोटक पदार्थ भारतसँग लिनको लागि निर्णय प्रक्रिया अघि बढिसकेको छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी भदौमा हुने भ्रमणमा पनि यसबारेमा कुराकानी हुने रक्षामन्त्री प्रधानले बताए । रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणका लागि आवश्यक विष्फोटक पदार्थ भारतबाट निर्यात गर्नुको विकल्प छैन, यो सामान भारतमात्रै पाउँछ, यसको लागि विशेष कुरा गर्न भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायजी काठमाडौंमै हुनुहुन्छ, छिट्ट्टै यसबारेमा निश्कर्षमा पुग्छौं।’

मुलुकका विकट क्षेत्रका सडक निर्माणमा नेपाली सेनाले गर्दै आएको कार्य मूल्याङकनका आधारमा राजधानीसँग तराई मधेसलाई जोड्ने छोटो दुरीको द्रुतमार्ग निर्माणको जिम्मेवारी सेनालाई दिएको बताउदैँ उहाले नेपाली सेनाको सक्षम जनशक्ति, चेनअफ कमाण्ड, छोटो समयमा गुणस्तरीय पूर्वाधार निर्माणको अनुभवले द्रूतमार्गले तोकिएको समयावधि भित्रै पूर्णता पाउने विश्वास दिलाए ।

त्यस्तै उनले सरकारले ७ वटै प्रदेश र उपत्यकामा समेत एक नेपाली सेनाको पृतनापति कार्यालय स्थापना भएको र सोही अनुसार पृत्तनापति समेत खटाईसकेको मन्त्री प्रधानले जानकारी दिए । उनले भने,‘संघीय संरचना अनुसार ७ वटै प्रदेशमा पृत्तना कार्यालय राखिएको हो, काठमाडौं उपत्यकामा भने छुट्टै पृतनापति कार्यालय रहनेछ ।’

सेनालाई पनि संघीय संरचनामा लैजाने उद्देश्य अनुसार नै सात प्रदेशमा सात र उपत्यकामा एक गरी आठ पृतना स्थापना गर्ने कार्यअघि बढिसकेको प्रधानले जानकारी दिए ।

मन्त्री प्रधानले निर्वाचनलाई शान्तिपूर्ण रुपले सम्पन्न गर्न नेपाली सेनाको भूमिका महत्वपूर्ण हुने बताउँदै पहिलाकै निर्णय अनुसार बाँकी निर्वाचनमा समेत सेना परिचालन हुने स्पष्ट पारे ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तुल्याउन सेना खटाइने गरेको इतिहासको स्मरण गराँउदै रक्षामन्त्री प्रधानले दुई चरणको स्थानीय तहको निर्वाचनपछि चुनाव भाँड्छौ, हुन दिन्नौ भन्ने पक्षले चुनावमा भाग नलिदाँ कति क्षति हुदो रहेछ भन्ने कुरा बुझिसकेको हुनुपर्दछ भने ।