१५ साउन, काठमाडौं ।

भारतीय कम्पनी इन्फ्रास्टक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज (आइएल एन्ड एफएस) लाई निर्माण र सञ्चालन जिम्मा दिँदा एक खर्ब ११ अर्ब रुपैयाँमा काठमाडौं–तराई/मधेस दु्रतमार्ग सडक आयोजना निर्माण हुने भएको छ ।

भारतीय कम्पनीले पाँच वर्षमा सडक निर्माण गरिसक्नुपर्नेछ । ७६ किलोमिटर लामो द्रुतमार्ग बनेपछि काठमाडौंबाट निजगढ ५९ मिनेटमा पुग्न सकिने विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) मा उल्लेख छ । सडकमा अधिकतम १२० किलोमिटर प्रतिघन्टादेखि न्यूनतम ६५ किलोमिटर प्रतिघन्टाको गतिमा सवारी गुडाउन सकिनेछ ।

काठमाडौंबाट तराई जोड्ने सबैभन्दा छोटो बाटोका रूपमा परिकल्पना गरिएको दु्रतमार्ग सरकार आफैँले वा विदेशी कम्पनी कसले निर्माण गर्ने भन्ने निश्चित भइसकेको छैन । तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विदेशी कम्पनीलाई निर्माण र सञ्चालन जिम्मा दिनुपर्ने बताएको छ ।

fast-track ktm tarai

व्यवस्थापिका संसद्को विकास समितिमा भएको छलफलमा मन्त्री विमलेन्द्र निधिले छिटो र स्तरीय दु्रतमार्ग निर्माणका लागि प्रतिस्पर्धाबाट छनोट भएको भारतीय कम्पनीलाई निर्माणको जिम्मा दिनुपर्ने बताए । भारतीय कम्पनी आइएल एन्ड एफएसले तीन महिनामा डिपिआर तयार गरेको छ ।

प्रतिस्पर्धाका आधारमा निर्माणका लागि आइएल एन्ड एफएस कम्पनी नै छनोट भएको छ । मन्त्री निधिले राष्ट्रिय हितलाई केन्द्रमै राखेर दु्रतमार्ग निर्माणका लागि प्रतिस्पर्धाका आधारमा विदेशी कम्पनी छनोट गरिएको बताए ।

‘सरकार र संसद्को आधिकारिक निर्णयबाट चयन भएको मोडेलका रूपमा परियोजना अघि बढिरहेको छ । प्रतिस्पर्धाका आधारमा ठेकेदार छनोट गरिएको हो,’ उनले भने । सरकार आफैँले निर्माण गर्न ढिलो र झन्झटिलो प्रक्रिया अवलम्बन गर्नुपर्ने बताउँदै उनले विदेशी कम्पनीबाट निर्माण भए तोकिएकै मितिमा सम्पन्न हुने बलियो आधार रहेको बताए । ‘हामीले पाँच वर्षमा दु्रतमार्ग बनाउनुपर्ने सर्त राखेका छौँ । समयमै निर्माण नभए ठेकेदारलाई ठूलो जरिवनाको सर्त राखिएको छ,’ उनले भने, ‘सोही प्रावधानका कारण ठेकेदारलाई नै क्षति हुन्छ । त्यसैले ठेकेदारले पाँच वर्ष होइन, चार वर्षमै निर्माण सक्न हतार गर्छ ।’ आजको नयाँ पत्रिकामा खबर छ ।