२१ पुष, एजेन्सी । फिनल्याण्डकी नयाँ अनि युवा प्रधानमन्त्री सन्ना मरिन्ले हप्तामा चार दिन काम गर्नुपर्ने नयाँ प्रस्ताव ल्याएकी छिन् ।

त्यो पनि दिनको जम्मा छ घण्टा । ३४ वर्षीया प्रधानमन्त्री मरिनले श्रमिकले आफ्नो परिवारसँग धेरै समय विताउन पाउन् भन्ने उद्देश्यले यस्तो प्रस्ताव ल्याएको डेली मेलले जनाएको छ । मानिसहरुले आफ्नो परिवार, प्रियजन, साथीभाई भेटघाट, संस्कृति संरक्षण आदिमा पनि समय विताउनुपर्ने हुन्छ, उनी भन्छिन् त्यसैले हाम्रो कामकाजी जीवनमा यो नयाँ कदम हुन सक्छ । मरिन प्रधानमन्त्री बन्नुअघि फिनल्याण्डको यातायात मन्त्री थिइन् ।

फिनल्याण्डमा प्रति दिन आठ घण्टाका दरले हप्तामा पाँच दिन काम हुँदै आएको छ । छिमेकी देश स्वीडेनमा सन् २०१५ मा ६ घण्टाको कार्यदिवसको परीक्षण गर्दा कर्मचारी र श्रमिकहरु खुशी भएको र उत्पादकत्व पनि बढेको पाइएको उनको भनाई छ । प्रधानमन्त्री मरिनको यो प्रस्तावमा बामपन्थी गठबन्धनका नेता एवं शिक्षा मन्त्री एन्डरसनले उत्साहका साथ तुरुन्तै स्वागत गरेका छन् ।