२१ भदौ, काठमाडौं । नुवाकोटको सदरमुका विदुरमा एक गाई मृत भेटिएको छ । शनिबार दिउँसो विदुर–८ बट्टारस्थित हावाघरनजिकै सेतो–कालो रङको गाई मृत भेटिएको हो ।

तस्बिर: मुरारी नेपालकाे फेसबुकबाट

शनिबार बिहान पनि सोही स्थानमा जिउँदो गाई गाड्न लागिएको थियो । हावाघरमा बनेको नवनिर्मित किरियापुत्री भवन नजिकैकाे खाल्डोमा खसालेर गाड्न लागिएको अवस्थामा फेला परेको हो ।

स्थानीय र प्रहरीलाई देखेपछि गाई गाड्न लागेका युवा भागेका थिए । स्थानीय, प्रहरी र सेनाको मद्दतले गाईको उद्दार गरिएको छ । प्रहरीले उक्त गाई तस्करीको लागि ल्याइएको हुनसक्ने आशंका गरेको छ ।

अहिलेसम्म बिदुर नगरपालिका–४ र ६ बाट ७ वटा गाई सकुशल, ४ वटा घाइते अवस्थामा भेटिएको छ । ११ वटा गाईहरुलाई विदुर–४ र ६ को सिमानामा व्यवस्थापन गरिएको स्थानीय मुरारी नेपालले जानकारी दिए ।

गाई ओसार्ने मध्येका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै अन्य तीन जनलाई गाईसहित रसुवा र नुवाकोटको सीमा बेत्रावतीबाट नियन्त्रणमा लिइएको छ ।