२८ साउन, काठमाडौं । सुनको मूल्य मंगलबार फेरि बढेको छ । बिहिबारदेखि स्थिर रहेको सुनको मूल्य मंगलबार फेरि उकालो लागेको हो ।

मंगलबार सुनको मूल्य एक हजार रुपैयाँ बढेको छ । यो मूल्य बढेसँगै अब छापावाल सुनको मूल्य तोलाको ७१ हजार रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ७ सय पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनसँगै चाँदीको भाउ पनि बढेको छ । मंगलबार १० रुपैयाँ प्रतितोला बढ्दै चाँदीको मूल्य ८ सय ३५ रुपैयाँ पुगेको छ ।

सुनको मूल्य उकालो लागेसँगै सुनपसलहरुमा ग्राहकको संख्यामा कमि आएको छ । साथै ग्राहकहरु आए पनि सुन बेच्नको लागि मात्र आउने गरेको व्यवसायीहरु बताउँछन् । चीन र अमेरिकाबीचको व्यापार युद्धको असर सुनको मूल्यमा देखिएको उनीहरुको भनाइ छ ।