५ मंसिर, काठमाठौँ।

बन्द, हडताल र नाकाबन्दीले निम्त्याएको समस्या समाधान खोज्न नागरिक समाज, मानवअधिकारकर्मी र बौद्धिक वर्ग सक्रिय हुनुपर्ने आवश्यकता औँल्याइएको छ ।

लायन्स क्लब अफ काठमाडौँले आज यहाँ आयोजना गरेको शान्ति तथा सद्भाव ऐक्यबद्धता कार्यक्रममा वक्ताहरुले नाकाबन्दीका कारण मुलुकले विकराल समस्या भोगिरहँदा पनि नागरिक समाज, गैरसरकारी सङ्घसंस्था र बौद्धिक वर्ग चुप लागेर बसिरहेका बताए ।

पूर्व सभासद् शान्ता चौधरीले एकले अर्कालाई आरोप–प्रत्यारोप लगाउने भन्दा पनि बन्द, हडताल र नाकाबन्दीका कारण उत्पन्न समस्यालाई चाँडो समाधान गर्नेतर्फ केन्द्रित हुन राजनीतिक नेतृत्वलाई आग्रह गरे ।

बन्द र हडतालका कारण मुलुकले ठूलो क्षति व्यहोर्नु परेको उल्लेख गर्दै उनले आन्दोलनको स्वरूप परिवर्तन गर्नुपर्ने, नभए अब नागरिक स्तरबाटै बन्द, हडतालको प्रतिकार गर्नुपर्ने बताइन ।

क्लबका अध्यक्ष डिके ढुङ्गानाले नाकाबन्दीका कारण औषधि जस्ता संवेदनशील वस्तुको अभाव हुँदा पनि सरकार र अन्तर्राष्ट्रिय सङ्घसंस्थाले चासो नदेखाउनु दुःखको कुरा हो भने।

मुलुकभित्र ६०० र बाहिर २११ राष्ट्रमा फैलिएको लायन्स क्लबले शान्ति र सद्भाव कायम राख्न देशव्यापी अभियान सञ्चालन गर्दैछ । रासस