२२ मंसिर, लाहोर । पाकिस्तानको पूर्वी नगर लाहेमा बन्दुकधारीहरूले शुक्रबार सुन्नी कट्टरपन्थी समूह अहल–ए–सुन्नत वाल जमातका पञ्जाव प्रान्तका प्रमुख नेता समसुर रेहमान मुयावियाको हत्या गरेका छन् ।

यसको तीन दिन अगाडि बन्दुकधारीहरूले सिया मुसलमान नेता दिदर अली जलवानीको कराचीमा हत्या गरेका थिए ।

मोटरसाइकलमा आएका बन्दुकधारीले मुयाविया गाडी चढेर आइरहेको समयमा निज र निजका चालकलाई गोली हानी घाइते बनाएको र उनीहरूको अस्पतालमा मृत्यु भएको स्थानीय प्रहरी अधिकारी राणा अब्दुल जब्बारले बताए । गाडी चालकको अवस्था गम्भीर रहेको बताइएको छ ।

यसैगरी बलुचिस्तानको क्वेटामा लडाकूहरूले बन्धक बनाएका व्यक्तिहरू छुटाउने प्रयास स्वरूप सुरक्षाकर्मी तथा लडाकू आशङ्का गरिएका व्यक्तिबीच भएको गोली हानाहानमा कम्तीमा छ व्यक्तिको मृत्यु भएको जानकारी अधिकारीहरूले शुक्रबार दिएका छन् ।

बलुचिस्तानका गृहमन्त्रालयका सचिव असाद गिलानीले बलुच लडाकूहरूले अपहरण गरेका केही व्यक्तिहरूलाई छुटाउन सुरक्षाकर्मीले कारबाही गरेको र त्यसमा पाँच लडाकूको मृत्युभएको बताए ।

उनले यस घटनामा एक सैनिकको मृत्यु भएको र एक घाइते भएको बताए । यस घटनालाई अर्धसेनाका एक वरिष्ठ अधिकारी तथा सीमा सुरक्षा सेनाले पनि पुष्टि गरेका छन् ।

देरा बुग्टी क्षेत्रमा सेनाले खोजी कार्य गरिरहेको समयमा लडाकूहरूले आक्रमण गरेको र सेनाको जवाफी कारबाहीमा पाँच लडाकूको मृत्यु भएको र एक सैनिकले आफ्नो ज्यान गुमाएको बताइएको छ ।

यस क्षेत्रमा धेरै बलुच पृथकतावादी समूह, तालिवानको नेतृत्वमा अल–कायदा तथा लस्कर–ए– जाँघ्वीका लडाकूहरू क्रियाशील रहेका छन् । एएफपी