२३ साउन, काठमाडौं ।

नेपालको गुणस्तरीय टायर उत्पादन गर्ने गोरखकाली टायर उद्योग दुई वर्षदेखि बन्द भएपनि कर्मचारीले हालसम्म हाजिर गरिरहेका छन ।

सो उद्योगमा २४७ कर्मचारी स्थायी छन् । उनीहरुको तलब भत्तामा मात्र मासिक एक करोड लाग्छ । पचपन्न कर्मचारी बिनाउपदान घर फर्किएका छन् । दुई वर्षदेखि रोकिएको तलब र भत्ता कर्मचारीलाई दिन मात्र २८ करोड चाहिन्छ ।

सो उद्योगका महाप्रबन्धक दिनेशकुमार बर्तौलाका अनुसार उद्योग बन्द भएको दुई वर्ष भयो तर कर्मचारीले अहिले पनि हाजिर गरेर घर फर्किन्छन् । धेरै कर्मचारी त हाजिर गरेर अरु ठाउँमा काम गर्छन् । उद्योगमा ८० प्रतिशत कर्मचारी स्थानीयवासी नै छन् । ‘उद्योग अहिले पनि रु डेढ अर्ब घाटामा छ, उनले भने ।

चीन सरकारको सहयोगमा निर्माण भएको सो उद्योग तत्काल सञ्चालनका लागि ८२ करोड लाग्छ । तर लगानी गरेर सञ्चालन गर्नतर्फ सरकारको ध्यान गएको देखिँदैन । उद्योगका महाप्रबन्धक बर्ताैलाका अनुसार उद्योगमा रहेका मेसिन निकै पुराना छन् । ती मेसिनले गुणस्तरीय उत्पादन दिन नसक्ने अवस्था छ । नयाँ प्रविधिका मेसिन किन्नका लागि एक अर्ब ६० करोड आवश्यक पर्छ ।

‘सरकारले लगानी गरेर चलाउने विषयमा अर्थमन्त्रालयले पैसा नहाल्ने भएको छ, कुनै लगानी गर्ने कम्पनीको खोजीमा छ तर भरपर्दो कम्पनी भेटिएको छैन, उनले भने ।

बन्द हुनुअघि सो उद्योग महिनामा पाँच/छ दिनमात्र सञ्चालनमा आउँथ्यो । आवश्यक सामग्रीको ढुवानी महँगो भएका कारण उद्योग सञ्चालनमा कठिनाइ थियो । सो उद्योगको ५६६ रोपनी जग्गा छ । त्यसको पनि सदुपयोग हुन सकेको छैन । एउटा टायरको तौल ६२ किलो हुन्छ । निर्माणका लागि ७० थरिका कच्चा पदार्थ चाहिन्छ । त्यसमा प्रयोग हुने खोटोबाहेक सबै कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्छ ।

व्यवस्थापिका–संसद्अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको उपसमितिको आजको बैठकमा उद्योग बन्द हुनुको कारणबारे सांसदले उद्योगका महप्रबन्धक बर्तौलालाई प्रश्न गरेका थिए । सांसदले बर्तौलालाई सरकारको लगानीमा सञ्चालन भएको उद्योग दुई वर्षदेखि बन्द हुनु र सञ्चालनमा आउन नसक्नुको कारण सोधेका थिए ।

नेपालको नाम चलेको गुणस्तरीय टायर उद्योग बन्द हुँदा धेरै नागरिक बेरोजगार भएको र समग्रमा मुलुकलाई घाटा लागेको सांसद राज्यलक्ष्मी श्रेष्ठको ठहर छ ।
रासस