८ कात्तिक, दाङ । सवारी दुर्घटनामा मानिसको मृत्यु हुँदा सडक जाम गरेको तपाईँ हामीले सुनेकै विषय हो । तर गाडीले कुखुरा मार्दा पनि स्थानीय चक्काजामा उत्रिएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका १४ लुहाडबरामा बसको ठक्करले कुखुराको भाले मरेपछि स्थानीयहरुले चक्काजाम गरेका हुन्।

उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयहरुले सडकमा ढुंगा, काठ, बाँस राखेर सडक अवरुद्ध पारेका थिए । खैराहा कोठारी सडकखण्डमा चल्ने बसले स्थानीयको भाले मारेर भागेपछि बिहीबार दिउँसो केहीबेर स्थानीयले सडक अवरुद्ध पारेको प्रहरीले जनाएको छ ।

भाले मार्ने बस धनीले क्षतिपूर्ती नदिइकन भागेपछि स्थानीय युवाले बाटो झण्डै एक घण्टा अवरुद्ध पारेको बताइएको छ । त्यसपछि बस व्यवसायी र भाले धनीबीच क्षतिपूर्तीबापत १ हजार २ सय रुपैयाँ उपलब्ध गराउने सहमति भएपछि स्थानीय युवाले बाटो खोलेका थिए ।