३० फागुन, काठमाडौं । शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार पुग्नेबित्तिकै ट्वीट गरेका छन् । दोश्रोपटक मृर्गौला प्रत्यारोपण गराएर डिस्चार्ज भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै आफ्नो स्वास्थ्यलाभको कामना गर्नेलाई धन्यवाद दिएका छन् । साथै उनले सफल मृर्गौला प्रत्यारोपणमा सहभागी चिकित्सकहरुप्रति आभार व्यक्त गरेका छन् ।

‘बाह्र दिन लामो अस्पताल बसाइपछि मृगौला प्रत्यारोपण गरेर म आज आफ्नो निवासमा फर्केको छु, मेरो मृगौलाको सफल प्रत्यारोपण गर्ने चिकित्सकहरूप्रति विशेष आभारी छु,’ प्रधानमन्त्री ओलीले ट्वीटमा भनेका छन्, ‘अस्पतालमा रहंदा मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका मित्रहरू एवं सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाईहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’

यसअघि प्रधानमन्त्री ओलीले कोरोना भाइरसविरुद्धको लडाइँमा सार्क सदस्य राष्ट्रसँग मिलेर अघि बढ्न तयार रहेको बताउँदै ट्वीट गरेका थिए । शुक्रबार ट्वीटरमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावको स्वागत गर्दै उनले दक्षिण एसियाका नागरिकलाई कोरोना भाइरसबाट जोगाउन सार्क सदस्य राष्ट्रसँग मिलेर काम गर्न तयार रहेको बताए ।

पहिलोपटक प्रत्यारोपण गरिएको मिर्गौलाले काम नगरेपछि प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । फागुन १९ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको २१ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीलाई उनकी भाञ्जी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन् । समीक्षा दुई दिनअघि अस्पतालबाट डिस्चार्ज भइसकेकी छिन् । प्रधानमन्त्री ओलीलाई संक्रमणको जोखिम भएकाले केही समय उनले बालुवाटारमै आराम गर्नेछन् ।